कोलम्बोबाट २५ जना नेपाली महिलाको उद्धार, नेपाली एजेन्ट मुखिया पक्राउ



काठमाडौं, (नेस) ।

कुवेतमा राम्रो काम पाउने आसमा दलालको पछि लागेर भारतको नयाँदिल्लीबाट श्रीलंकाको राजधानी कोलम्बो पुगी अलपत्र परेका २५ जना नेपाली महिलालाई प्रहरीले उद्धार गरेको छ । प्रहरीले नेपाली एजेन्टको रूपमा काम गर्दै आएकी सप्तरीकी सावित्री देवी मलाह भन्ने सावित्री मुखियालाई समेत पक्राउ गरेको छ ।

श्रीलंका पुर्‍याएपछि एउटा अपार्टमेन्टमा बन्धक बनाइएका ती २५ जना नेपाली महिलालाई त्यहाँको प्रवेशाज्ञा सकिएपछि प्रहरीले पक्राउ गरी १३ महिना जेलमा समेत राखेको थियो । कुवेत जान भनेर हिँडेका २५ जना महिला कोलम्बोस्थित केन्द्रीय कारागारमा थुनामा रहेको थाहा पाएपछि कोलम्बोमा रहेको नेपाली दूतावासले उनीहरूलाई नेपाल फर्काउन पहल गरेको थियो ।

दूतावासको पहलमा नेपाल फर्किएका ती महिलाहरूलाई माइती नेपालमा केही दिन राखेर आफन्तको जिम्मा लगाई घर फिर्ता गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ । ब्युरोका अनुसार मुखियाले विभिन्न जिल्लाबाट महिलाहरू काठमाडौं ल्याउने र उनीहरूको राहदानी बनाइदिने र काठमाडौंका साथै विभिन्न नाकाबाट भारतको नयाँदिल्ली पुर्‍याएर एजेन्टको जिम्मा लगाउने गरेकी थिइन् ।

भारतमा रहेका नेपाली नागरिक गणेश राईले ती महिलाहरूलाई दुई हप्तासम्म नयाँदिल्ली राखेर श्रीलंकाको राजधानी कोलम्बोस्थित निलपनागोडामा रहेको एउटा अपार्टमेन्टमा ती महिलालाई बन्धक बनाएर राखिएको थियो । लामो समय प्रवेशाज्ञाबिना आफ्नो देशमा बसेको भन्दै ती महिलाहरूलाई श्रीलंकाली प्रहरीले पक्राउ गरी केन्द्रीय कारागार चलान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्