संविधान रक्षाको आन्दोलनमा मिडियाको भूमिका प्रशंसनीय : अर्थमन्त्री शर्मा



काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले संविधान रक्षाको आन्दोलनमा मिडिया क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । नेपाल पत्रकार महासंघद्वारा केन्द्रीय कार्यालयमा सोमवार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान विरोधी गतिविधिका विरुद्ध निरन्तर आवाज उठाएर संचार जगतले संविधानको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

अघिल्लो सरकारको संविधान विरोधी गतिविधिका विरुद्ध गठबन्धनकारी राजनैतिक दल, आम जनता, बुद्धिजिवी, कानुनविदसँगै मिडिया क्षेत्रले सक्रिय भूमिका निर्वाह गरेको कारण लोकतन्त्र र संवैधानिक अधिकार जोगिएको उहाँको भनाइ छ । स्वरोजगारमूलक साना तथा मझौला उद्योग व्यावसायसँगै स्वरोजगारमूलक मिडियाहरुको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने बारे सरकार प्रयत्नशील रहेको भन्दै मन्त्री शर्माले यसबारे आवश्यक व्यवस्था मिलाउन राष्ट्रबैंकसँग पनि कुरा भइसकेको जानकारी दिनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दुढतापूर्वक उभिने भन्दै उहाँले गल्ती कमजोरीहरु औंल्याएर रचनात्मक सहयोग गर्न आम सञ्चार जगतलाई आग्रह गर्नुभयो । मन्त्री शर्माले कोभिड संकटबाट पार पाउन कसैको एकल प्रयास पर्याप्त नहुने भन्दै सबै सरोकारवालाको सुझाव र सामुहिक प्रयत्नबाट राहत सम्बन्धी उचित निर्णय गरिने स्पष्ट पार्नुभयो ।

दलीय स्वार्थभन्दा माथि उठेर संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेतर्फ सवैले ध्यान दिनुपर्नेमा मन्त्री शर्माको जोड छ । स्वागत कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्रमा संघीयता कार्यान्वयन गर्नुपर्ने, कोभिड पीडित सञ्चारकर्मीहरुको लागि राहत र पुनस्थापना, समानुपातिक विज्ञापन नीति कार्यान्वयन, प्रेस स्वतन्त्रताको सम्मान लगायतका विषयहरुमा सरकार प्रतिवद्ध रहनुपर्ने बताउनुभयो ।

उहाँले सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने मिडियाको धर्म भएकोले यसको सम्मान गर्ने वातावरण निर्माणमा जोड दिनुभयो । पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारहरुको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षालगायतमा सरकारले सरकारले परिणाममुखी काम गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्