यूएनएफपीएद्वारा नेपाललाई ८ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण



न्युज अफ नेपाल, काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिंदै थप जीवनरक्षक सामग्री प्रदान गरेको छ । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले सोमबार रु १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मुल्य बराबरको ८ सय थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीलाई हस्तान्तरण गर्नुभयो ।

नेपालको कोभिड–१९ प्रतिकार्यका लागि यूएनएफपिएबाट प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र युएनएफपीएबीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौता अन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको हो ।

कोभिड–१९ को दोस्रो लहरविरुद्ध संघर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नु परेको थियो । महामारीले देशभरिका स्वास्थ्य संस्थाहरुमाथि निकै ठूलो दबाब सिर्जना गरेको छ । “हामीलाई अहिलेको आपतकालीन स्थितिको सामना गर्न र सम्भावित तेस्रो लहरको लागि तयारी गर्न अक्सिजन चाहिन्छ । चीन सरकार र यूएनएफपिएको यो सहयोगले अक्सिजन आपूर्ति सहज रहेका स्वास्थ्य संस्थाहरुमा पहुँच बढाउन मद्दत गर्नेछ”, डा तिनकरीले भन्नुभयो । “हाम्रो सामूहिक कोभिड–१९ प्रतिकार्यमा अन्तरराष्ट्रिय विकास साझेदारहरुसंगको साझेदारीको हामी कदर गर्दछौं ।”

महामारीले महिला र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुमाथि निकै ठूलो असर पारेको छ, जसले परिवार नियोजनसहित यौन तथा प्रजनन स्वास्थ्य सेवाहरु प्राप्त गर्न ठूला व्यवधानका साथै लैङ्गिक हिंसाको बढ्दो जोखिमको सामना गरिरहेका छन् ।
“कोभिड–१९ का बिरामीहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दा हामीले महिला र किशोरीहरुमाथि यो अप्रत्यासित महामारीको प्रभाव न्यून गर्न स्वास्थ्यकर्मीहरुको सुरक्षा, लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको सम्बोधन र गर्भनिरोधक तथा प्रजनन स्वास्थ्य सामग्रीहरुको आपूर्ति सहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको निरन्तरतालाई सुनिश्चित गर्नुपर्छ,” यूएनएफपिए नेपालकी प्रतिनिधि लुब्ना बाकीले भन्नुभयो ।

प्रजनन उमेरका महिलाहरु तथा किशोरीहरुको विशेष र निश्चित आवश्यकताहरु सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि यूएनएफपिएले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरु र साझेदारहरुसंग काम गरिरहेको छ । “यो महत्वपूर्ण समयमा जीवन बचाउनका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद,” बाकीले भन्नुभयो ।

रोकथाम गर्न सकिने मातृमृत्युको अन्त्य, परिवार नियोजन सेवाको अपरिपूर्त मागको अन्त्य र लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको अन्त्य गरी तीन रूपान्तरणकारी लक्ष्यहरुतर्फको प्रगतिमा महामारीको प्रभावलाई न्यून गर्नका लागी संयुक्त राष्ट्रसङ्घका अन्य निकायहरु र विकास साझेदारहरुको साथमा यूएनएफपिएले सरकारको कोभिड–१९ प्रतिकार्य योजनाहरुका लागि उपलब्ध गराइरहेको सहयोगलाई निरन्तरता दिनेछ ।

यसअघि पनि चीन सरकारको सहयोगमा यूएनएफपिएले महिला तथा युवतीहरुका लागि जीवन रक्षक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाविरुद्धका सेवाहरुको निरन्तरता सुनिश्चित गर्दै संक्रमण रोकथाम गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्न ७ हजार २ सय ४८ थान पिपिई कीट उपलब्ध गराएको थियो ।

त्यसका अतिरिक्त, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रहरु र सुरक्षित आवासगृहहरु मार्फत यूएनएफपिएले चीनको सहयोगमा कोभिड–१९ र मनसुन आपतकालीन प्रतिकार्य स्वरूप देशभरी महिला तथा किशोरीहरुलाई ३ लाख ४२ हजार ९ सय ३० थान सेनेटरी प्याड वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्