युवा विकासको लागि स्थानीय तह बढी जिम्मेवार हुनुपर्नेमा जोड



न्युज अफ नेपाल, ललितपुर ।

युवावर्गको विकासका लागि समुदायसंगै स्थानीय तह र राज्यका निकाय बढी जिम्मेवार भई अघि बढ्नुपर्ने खाँचो एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् ।ललितपुर महानगरपालिका– १९ वडाको आयोजना र राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको सह आयोजनामा भएको पाँच दिने नेतृत्व विकास तथा समूह व्यवस्थापन तालिमको आईतबार समापन समारोहमा उनीहरुले सो खाँचो औल्याएका हुन् ।

सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आफ्नो प्रतिभा, विचार र क्षमताले अनुयायी जन्माउन सक्ने मानिस नै नेतृत्व रहेको बताउँदै त्यसका लागि संगठन, समूह र समुदायमा बसेर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी निरौलाले समाज राष्ट्रको विकासमा युवावर्गको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै युवाशक्तिलाई सदुपयोग गर्न समुदाय, स्थानीय तहसंगै राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।

समारोहमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले युवावर्गको प्रतिभा प्रस्फुटन, क्षमता विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै तालिममा सिकेका विषयमा व्यवहारमा उर्तानुपर्ने बताउनुभयो ।ललितपुर महानगरपालिका– १९ वडाका अध्यक्ष विनोद ताम्रकारले युवावर्गमा सकारात्मक सोच, क्षमता विकासका लागि युवासम्बद्ध संघसंस्थासंग सहकार्य गरेर अघि बढ्न वडा कार्यालय तयार रहेको बताउनुभयो । वडाअध्यक्ष ताम्रकारले वडास्तरमा युवावर्गको विकासको कार्यलाई प्राथमिकतामा राखेको बताउँदैै यसका लागि सहकार्य गरेर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा शाखाका सल्लाहकार एवं नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले समुदायका तृणमुलमा रहेका युवावर्गलाई जिम्मेवार बनाउन, सशक्तिकरणका लागि कसैको एक्लो प्रयास मात्र पर्याप्त नरहेको उल्लेख गर्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।समारोहमा १९ वडाका महिला तथा युवा संयोजक एवं वडा सदस्य रामिया महर्जनले नेतृत्व विकास तालिमबाट आफू निकै प्रभावित भएको बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शाखाका अध्यक्ष राजन महर्जनले काम विशेषले घरबाटै ननिस्किने शहरी क्षेत्रका युवावर्गलाई समुदायमा घुलमिल बनाउन, जिम्मेवारी भावना बढाउन र क्षमता विकासको लागि वडाले गरेका कामहरुमा यस तालिम एउटा महत्व फड्को रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।तालिमका प्रशिक्षक प्रणीता शाक्यले समुदायमा घुलमिल भएर काम गर्ने बानीको विकास गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।तालिमका सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य, समाजसेवी अजरमान जोशी, शाखाका निर्वतमान अध्यक्ष राजेश बज्राचार्य, वडा सदस्यद्वय रामिया महर्जन, बुलाल महर्जनले पालैपालो प्रमाणपत्र वितरण गर्नुभयो ।तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्