नेपाल समूहबिना नै अघि बढ्यो एमाले



काठमाडौं, (नेस) ।

पार्टीभित्रको विवादलाई थाती राख्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले सांगठानिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच एकता हुन नसकेपछि एमालेले स्थानीय तहका कमिटीहरूको अविधेशनको मिति तोक्ने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँले साउन २४ गते एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी पनि दिनुभयो । दुई अध्यक्षको व्यवस्थाका विषयमा प्रस्ट पार्दै महासचिव पोखरेलले एमालेको विधानमा यस्तो व्यवस्था नरहेको भन्दै २०७५ जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहींबाट टुंगो लाग्ने टिप्पणी गर्नुभयो ।

त्यसै गरी, बैठकले काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । त्यस्तै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।

बैठकले आगामी असोजको पहिलो साता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो साता सबै पालिकाहरूमा पालिकास्तरीय पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेका बेला तुइनको तार चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्