अब सातवटै प्रदेशमा खोप भण्डारण गृह



मधुसूदन रायमाझी, काठमाडौं ।

सरकारले देशभर आठवटा कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरेको छ । खोपको सहज र सरल व्यवस्थापनका लागि सरकारले सातवटै प्रदेशमा खोप भण्डारण गृह निर्माण गरेको हो । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले सातवटा प्रदेशमा एक–एकवटा र बाराको पथलैयामा केन्द्रीय गरी आठवटा खोप भण्डारण गृह निर्माण गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल छोटो समयमा तोकिएकै समय सीमाभित्र कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरिएको बताउनुभयो । ६ करोड ६० लाख रुपियाँको लागतमा निर्माण गरिएको उक्त भण्डारण गृहमा तत्कालका लागि कोरोनाविरुद्धको खोप भण्डारण गरिने भए पनि पछि अन्य खोप पनि भण्डारण गर्न सकिने प्याकुरेलले बताउनुभयो ।

विभागले बाराको पथलैयामा, प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुरधामस्थित मुजेलिया, वागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा केन्द्रीय खोप भण्डारण गृह निर्माण गरिएको जनाएको छ । २ नम्बर प्रदेशको धनुषा, वागमती प्रदेशको हैटौंडा र लुम्बनी प्रदेशको रूपन्देहीको बाहेक बाँकी प्रदेश र केन्द्रको भण्डारण गृह सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको पनि विभागले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले आधुनिक र प्रविधिको प्रयोगमार्फत भण्डारण गृह निर्माण गरिएको बताउनुभयो । तयार भएको भण्डारण गृहमा बाहिरी फ्रेमका रूपमा तीनवटा कम्पार्टमेन्ट निर्माण गरिएको छ । जसमा बाहिरबाट खरिद गरी ल्याइएको ‘वाचिङ कुलर’ राखिन्छ । ‘वाचिङकुलर’ मै खोप भण्डारण गरिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित प्रदेशहरूका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राख्ने तथा बाँकी खोप केन्द्रीय भण्डारण गृहमा राख्ने योजना बनाएको छ । ठूलो मात्रामा एकैपटक खोप खरिद गरेर ल्याउँदा व्यवस्थापन गर्न कठिन हुने भएपछि सरकारले केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डारण गृह निर्माण गर्ने निर्णय गरेको थियो । खोप भण्डारण गृह निर्माण भएसँगै अब सातवटै प्रदेशमा खोप व्यवस्थापन गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्