निषेधाज्ञाको स्वरूपबारे पुनः विचार गरिँदै



सुनील महर्जन, काठमाडौं ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हाल कायम निषेधाज्ञाको स्वरूपबारे उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले पुनः विचार गर्न थालेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमण बढिरहेको स्थितिका बारे छलफल भइरहेको बताउनुभयो । उहाँले संक्रमण संख्या बढ्दै गएको अवस्थामा आफूहरूले छलफल गरेर केही निर्णय लिनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) सँग पनि यस विषयमा छलफल गर्ने जानकारी दिँदै भन्नुभयो– ‘अरूभन्दा यातायात खोलेपछि संक्रमण अलि बढेको प्रशासनको ठम्याइ रहेको छ । हामीले साउन २० गतेसम्मका लागि निषेधाज्ञा लागू गरेका छौं ।’

अन्य विभिन्न खाले भीडभाड भइरहेको अवस्थामा लामो समयदेखि मारमा परेको यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने देखिएको छ । ठोस केही निर्णय गर्नुअघि थप केही दिनको तथ्यांक पनि हेर्ने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । उपत्यकाका तीनवटै जिल्लाले समन्वय गरेर एकैखाले निर्णय सार्वजनिक गर्दैै आएका छन् ।

असारको तेस्रो सातादेखि उपत्यका तीनवटै प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको थियो । निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण बढ्ने क्रममा केही तीव्रता देखिएसँगै थप सतर्कता अपनाइनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केही दिनको तथ्याकंमा नेपालमा क्रमशः संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । छिमेकी भारतमा तेस्रो लहर शुरु हुन लागेको विवरण आइरहेका बेला नेपालमा पनि यसको धेरै सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले चेतावनी दिइसकेका छन् ।

धेरै जनसंख्याका कारण काठमाडौं उपत्यका अत्यधिक जोखिममा रहेकाले अहिले पनि केही रूपमा निषेधाज्ञा लागू नै छ । अहिले पनि सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जनस्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै, खुला स्थानमा मानिसहरू भेला हुन, भीडभाड गर्न, सभा–जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै, नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ । तैपनि संक्रमणको संख्या बढ्दै गएपछि उपत्यकका तीनवटै जिल्ला प्रशासन कार्यालय भने हाल ‘पर्ख र हेरको अवस्थामा’ रहेको बताएका छन् ।

कोरोनाको दोस्रो लहर फैलिएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गते विहीबारदेखि निषेधाज्ञा लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्