कायममुकाय प्रधानसेनापतिमा शर्मा नियुक्त



दीपक रिजाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कायममुकाय प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सैनिक ऐन–२०६३ को दफा ८ को उपदफा (३) अनुसार राष्ट्रपति भण्डारीले उहाँलाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २४ गतेबाट अनिवार्य अवकास पाउनुहुने भएपछि यही साउन २४ गतेबाट उहाँ एकमहिने बिदामा बस्न लाग्नुभएको छ ।

कायममुकायम प्रधानसेनापतिमा नियुक्त हुनुभएका रथी शर्माले स्वदेशमा सबै व्यावसायिक तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएको छ ।

उहाँले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्यान्ड तथा पाकिस्तानबाट प्रतिरक्षा र बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम तथा सेमिनार पूरा गर्नुभएको छ ।

यसका साथै नेपाली सेनाको अपरेसनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक र विगत १ वर्षदेखि बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारी पूरा गर्नुभएका शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समस्याहरु तथा चुनौतीको बारेमा पूर्णरूपमा ज्ञान हासिल गर्नुभएको छ ।

रथी शर्माले आफ्नो ३७ वर्षे लामो सैनिक सेवाको दौरान गुल्म, गण, वाहिनी, पृतनालगायत जंगी तथा सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक, सहबलाध्यक्षका साथै युद्धकार्य महानिर्देशक, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृतको जिम्मेवारीसमेत पूरा गर्नुभएको छ । उहाँले नेपाली सेनाको हरेक जिम्मेवारीको नजिकबाट अनुभव र ज्ञान रहेको छ ।

रथी शर्माले संयुक्त राष्ट्रसंघको शान्ति मिसनका दौरान पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमान्ड गर्ने अवसर प्राप्त गरी आफ्नो जिम्मवारी सम्पन्न गर्नुका साथै भारतमा सम्पन्न भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी हुनुभएको छ । उहाँलाई अन्तर्राष्ट्रियस्तरका विविध मामिलाको बारेमा अनुभव रहेको छ भने ३ वर्षसम्म बंगलादेशमा सैनिक सहचारीको कार्यभार सम्हालीसकेका कारण उहाँको कार्यकालमा नेपाली सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

रथी शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएको छ । जसका कारण उहाँले नेपालको मात्र नभएर विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गर्नुभएकाले नेपाली सेना र नेपालको इतिहासको संरक्षण तथा सम्वद्र्धन एवं राष्ट्रिय सुरक्षाको सवालमा उहाँको विशेषज्ञताको सदुपयोग हुने मुख्यालयले जनाएको छ ।

सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित रथी शर्माको मुख्य प्राथमिकता कोभिड–१९ का कारण प्रभावित तालिमलाई सुचारु बनाई नेपाली सेनाको अपरेसनल क्षमतालाई अभिवृद्धि गर्नुरहेको छ भने अन्य प्राथमिकतामा तीन जोड एक अवधारणाअनुसारको पुनःसंंरचनालाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउनु रहेको छ ।

यसको अलवा पूर्वप्रधानसेनापति थापाले शुरु गर्नुभएका सुधारका कार्यक्रमको प्रभावकारिताबारे मूल्यांकन गर्दै निरन्तरता दिने र संस्थागत गर्नेलगायत अधिकृतहरुको हौसला अभिवृद्धि गर्ने तथा जवान र तिनका परिवारको कल्याणका कार्यहरु उहाँको प्राथमिकताका क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्