१९ वर्षपछि आफ्नै भवन बनाउँदै काठमाडौं महानगरपालिका



काठमाडौं, (नेस) ।

काठमाडौं महानगरपालिकाले टेकुमा रहेको आफ्नै जग्गामा मुख्यालय भवन बनाउने भएको छ । १९ वर्षपछि आफ्नै भवन निर्माण शुरु गर्न लागेको महानगरले निर्माणाधीन भवन अत्याधुनिक प्रबिधियुक्त हुने बताएको छ ।

नक्सालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि महानगरले हाल बसेको बागदरबार भवनको स्वामित्व पाएको थियो । महानगरले करिब १० करोड रुपियाँ लागतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन निर्माण गरिदिएपछि सरकारको स्वामित्वमा रहेको सो भवनको भोगचलन गर्ने अधिकार कामपालाई दिइएको हो । २०७२ सालको शक्तिशाली भूकम्पका कारण बागदरबार क्षतिग्रस्त भएपछि महानगर हालको जेडिए भवनमा सरेको थियो ।

‘अब आफ्नै स्वामित्वमा रहेको करिब ७ रोपनी जग्गामा ८७ करोड रुपियाँको लागतमा निर्माण हुने भवन दुई वर्षभित्र सम्पन्न हुनेछ ।’ –कामपा सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले भन्नुभयो । उहाँका अनुसार जताततै लफडा हुने देखेपछि महानगरले वातावरण व्यवस्थापन विभाग रहेको क्षेत्रमा अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । एक महिनाभित्र त्यहाँ भएको पुरानो संरचना भत्काइने र दुई महिनापछि निर्माण शुरु गर्ने गरी सम्झौता भएको छ ।

८ तले सो भवनमा २ सय जना अट्ने क्षमताको अत्याधुनिक हल, करिब ५० जना अट्ने क्षमता भएको साना हल, बोर्ड हललगायतका सबै निकाय अट्ने हलसहितको भवनमा लिफ्टको पनि व्यवस्था रहने बताइएको छ । सम्पदामैत्री सो भवन करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी केसी समानान्तर जेभिले जिम्मा लिएको छ ।

आफ्नै भवनको अभावमा कामपाले भाडाबापत करोडौं रुपियाँ खर्च गर्नुपरे भएपछि महानगरले आफ्नै भवन निर्माण गर्न लागेको हो । यसअघि बागदरबार (हरिभवनमा) करिब १ अर्ब रुपियाँ लागतमा भवन बनाउन लाग्दा पुरातत्व विभागले असहमति जनाएपछि महानगरले टेकुमा आफ्नै भवन बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्