न्युज अफ नेपाल, भद्रपुर ।
झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका फोकल पर्सन ओम खड्कामाथि कार्वाही गर्न चौतर्फी माग भएको छ ।
मानव अधिकार संजाल झापाले एक प्रेस विज्ञप्ति जारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रुपले होटलमा लुकाइ राखेको अबस्थामा खोप बरामद हुनुले लज्जास्पद र निन्दनीय भएको जनाएको छ । महासचिव डा. रुपकप्रसाद खनालले जारी गरेको विज्ञप्तिमा जनताको स्वास्थ्य सम्बन्धी अधिकारमाथि खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई कडाभन्दा कडा कार्वाही गरी आगामी दिनमा खोपलाई दुरुपयोग हुन नदिई सहज बनाउन बिर्तामोड नगरपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग माग गरिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले कार्वाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न बिर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ । साथै यस्ता घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र विभिन्न बहानाबाजीमा ओठे जवाफले आफ्ना आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको बिपक्षमा जनदबाब सृजना गर्न अपिल गरिएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले पनि कार्वाहीको माग गरेको छ । नगर अध्यक्ष रन्जु प्याकुरेलले एक विज्ञप्ति जारी गरी जनस्वास्थ्यसँग जोडिएको संबेदनशील बिषयमा जिम्मेवार निकायका व्यक्ति नै संलग्न रहनुले जनआक्रोश चुलिएको अवस्थामा सत्य तथ्य छानबिन गरी जनतालाई सुसूचित गर्न र त्यस्ता कर्मचारीलाई अबिलम्ब कार्वाही गर्न स्थानीय सरकारसमक्ष माग गर्नुभएको छ ।
शुक्रबार होटलबाट खोपसहित खडकालाइ माओवादी केन्द्रका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका खड्का राति नै छुटेका छन् । बिर्तामोड प्रहरीले बरामद खोपसहित पक्राउ परेका खड्कालाई स्वास्थ्य कार्यालयको जिम्मा दिएको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताउँनुभयो । स्वास्थ्य कार्यालयले राति नै छोडिदिएको बिर्तामोड स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले जानकारी दिनुभयो ।












प्रतिक्रिया