१५ दिनभित्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र



राम धामी, डडेल्धुरा ।

हत्या गरिएकी स्वास्थ्यकर्मीको हत्यारा यथासिघ्र पत्ता लगाउन मागगर्दै डडेल्धुराको परशुराम नगरपालिकाका स्थानीयले १५ दिने अल्टिमेटमसहित प्रधानमन्त्री शेरबहादृुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनगर्दै गत असार २ गते हत्या गरिएकी स्वास्थ्यकर्मी अस्मिता धामीको हत्यामा संलग्न दोषीलाई कारवाहीको मागगर्दै अस्मिता धामी हत्या प्रकरणमा स्थानीय स्तरमा गठित न्यायीक संघर्ष समितिका पदाधिकारीहरुले हालसम्म हत्यारा पत्ता लगाउन प्रभावकारी अनुसन्धान हुन नसकेको र सो हत्याकाण्ड पनि निर्मला पन्त हत्या प्रकरणजस्तै बन्न सक्ने आशंका बढन थालेको जनाएका छन् ।

विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला पारिएकी परशुराम नगरपालिका–८ स्थित जमेरानी आधारभुत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी २८ बर्षीया अस्मिताको हत्या भएको लामो समय बितिसक्दा पनि हालसम्म प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले घटनाको प्रारम्भीक अनुसन्धान प्रतिवेदनसमेत सार्वजनिक नगरेको न्यायीक संघर्ष समितिका संयोजक धनबहादुर बोहराले बताउनु भयो ।

गत असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव चारदिनपछि परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । घटना घटेको डेढ महिना बित्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै संघर्ष समितिले पाँच बुँदे मागसहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

तत्काल अनुसाधन प्रतिवदेन सार्वजनिक गर्नुपर्ने, करिब दुई महिना अवधिसम्म पनि कसैलाई पनि गिरफ्तार नगरी कानुनी कारबाही नगरेको हुँदा अपराधि पत्ता लगाई कारबाही गर्नुपर्ने माग संघर्ष समितिले राखेको छ । मृतक अस्मिता धामीका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यसका साथै मदिरा सेवन गरी अपराध गर्ने गरेको हुँदा डडेल्धुरालाई मदिरा निषेधित जिल्ला घोषणा गर्नुपर्ने मागसमेत प्रधानमन्त्री देउवासँग राखेको संघर्ष समितिका संयोजक बोहराले जानकारी दिनुभयो । समितिले अघि सारेका मागहरु १५ दिनभित्रमा पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत ज्ञापन पत्रमार्फत् सरकारलाई दिएको छ ।

माग पूरा नगरिए भदौ १ देखि ३ गतेसम्म इलाका प्रशासन कार्यालय जोडबुडामा धर्ना दिने, ४ गते जोगबुडा बजारमा नारा–जुलुस गर्ने, ५ गते जिल्लाभरिका सरकारी कार्यालयमा तालाबन्दी र ६ गतेदेखि अनिश्चित सयमसम्म डडेल्धुरा जिल्ला बन्द गर्ने संघर्ष समितिले सरकारलाई चेतावनी दिएको छ ।

डडेल्धुरा प्रधानमन्त्री देउवाको गृहजिल्ला भएकाले पनि अस्मिता न्याय पाउने अपेक्षा संघर्ष समितिले गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उँहाले प्रहरीले अहिले अनुसन्धान गरिरहेकाले यसबारेमा थप बोल्न नमिल्ने पनि बताउनु भयो ।

घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाए पनि त्यसबाट कुनै ठोस् प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ । जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ । यससँगै प्रहरीले अझै अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक यज्ञराज भट्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्