शिवशंकरको ओम बकम्फुसाय नमः



गाईजात्रा पर्वको अवसर पारेर हरेक वर्ष आप्mनो हास्य प्रस्तुति लिएर आउने हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले यसपाली पनि हास्य प्रस्तुति ओम बकम्फुसाय नमः सार्वजनिक गरेका छन्।

आगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै रिजालले ओम बकम्फुसाय नमः सार्वजनिक गरेका हुन्। आफ्नो प्रस्तुतिमा रिजालले देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्ने कोशिस गरेका छन्। उनले यसपालि पनि एक प्यारोडी गीतसहित प्रहसन तयार पारेका छन्। प्रहसनको केन्द्र भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन्।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनाइएको छ। यसलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ। रिजालको ओम बकम्फुसाय नमः २०औं कोसेली हो। गत वर्ष उनले लकडाउन नामक गाईजात्रे कोसेली ल्याएका थिए।

हास्यकलाकारका लागि गाईजात्रा एउटा महान् उत्सव भएकोले लामो समयदेखि यो वर्षमा गाईजात्रे कोसेली ल्याउने गरेको रिजालले बताउँछन्।

‘गत वर्ष लकडाउन नामक गाईजात्रे कोसेली ल्याएको थिएँ। यो धेरैले हेरे, टिकटकलगायत सामाजिक सञ्जालमा समेत भाइरल भयो’ रिजाल भन्छन्— ‘म हरेक वर्ष आफ्नो पर्सनल गाईजात्रे कोसेली ल्याउने गरेको छु।’

रिजालले हुकुम बक्सियोस् बोलको गीतलाई यसमा प्यारोडीमार्फत नेताहरूको रमाइलो प्रस्तुति समेटेका छन्। गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालका अलावा दमन रुपाखेती, शशीविक्रम थापा, घनश्याम गौतम, सुरेश तिमल्सिना, सबु लामिछाने, वेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धीरेन्द्र सिंहलगायतले अभिनय गरेका छन्।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तररूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन्। प्यारोडी गीतमा रिजालका साथमा शंकर कार्कीको शब्द रहेको छ भने स्वर शशीविक्रम थापा तथा राधिका हमालले साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्