भूमिहीनहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण



पाल्पा, (नेस)  ।

पाल्पा जिल्लामा अव्यस्थित, भूमिहीनहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत अव्यस्थित, भूमिहिनहरूको समस्या समाधान गर्न ध्यानार्कषण गराएको हो । संघठनले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई भूमि व्यवस्थासम्बन्धी आयोग पुनः सक्रिय बनाई काम थाल्न अनुरोध गरेको छ ।

पाल्पाका १० वटै स्थानीयतहमा भूमिहीन, अव्यवस्थित बसोबासको अत्याधिक समस्या रहेको, तानसेन, रामपुर, माथागढी, बगनासकाली, तिनाउँ, रैनादेवी छहरा, निस्दीका पालिकाहरूमा यो समस्या उच्च रहेको अवस्थामा जिल्लास्तरीय भूमि व्यवस्थापन कार्यालयबाट लगत संकलन लिई अन्तिम टुङ्गो लगाउने समयमा आयोग र जिल्लास्थित कार्यालयबाट भएका सम्पूर्ण काम कारवाही रोकी, संस्था नै खारेजले समस्या परेको प्रमुख जिल्ला अधिकारी पाण्डेलाई संघठनले ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।

यो जिल्लाको मात्र नभई देशभरि १७ लाख नागरिकहरूको समस्या भएकाले सरकारले उच्च प्राथमिकता दिएर समस्या समाधान गर्नुपर्ने मञ्चका केन्द्रीय सदस्य दलबहादुर रास्कोटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्