मन्त्रालय टुंगो लाग्यो, मन्त्री छान्न अझै सकस

कांग्रेस ८, माओवादी र जसपालाई ७–७ मन्त्रालय, नेपाल समूह तत्काल सरकारमा नजाने



मधुसूदन रायमाझी, काठमाडौं ।

सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र मन्त्रालय भागवण्डामा सहमति जुटेको हो ।

सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७–७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागवण्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि गठबन्धनमा आबद्ध दललाई मन्त्री छनोट गर्न निकै सकस बन्दै गएको छ ।

बिहीबार बसेको गठबन्धनको बैठकमा नेपाल समूहलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जसपाबीच समझदारी भएको छ । कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा टुंगो लागेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार मन्त्रीमण्डल विस्तार गर्ने क्रममा नै मन्त्रालयका बारेमा जानकारी दिने तीन दलबीच सहमति भएको छ ।

मन्त्री छनोट गर्न कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलासँग मन्त्री छनोटको विषयमा छलफल गरिहनुभएको छ ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पार्टीको बैठक निरन्तररूपमा चलिरहेका कारण मन्त्री छनोटको विषयमा खासै छलफल नभएको बताउनुभयो । उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘अब तीन÷चार दिनभित्र मन्त्रीमण्डले पूर्णता दिने गरी प्रधामन्त्रीले गृहकार्य गरिरहनुभएको छ ।’

त्यसै गरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म नेपाल समूहलाई सरकारमा सहभागी गराएर मन्त्रीमण्डललाई पूर्णता दिने दौडधुप गर्नुभएको छ । बिहीबार गठबन्धनका दलहरुबीच छलफल गरेलगत्तै प्रचण्डले एमालेका वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा सकेसम्म सरकारमा सहभागी हुन आग्रह गरे पनि नेता नेपालले तत्काल नै सरकारमा सहभागी हुने वातावरण नरहेको जवाफ दिएको बताइएको छ ।

त्यसै गरी, जनता समाजवादी पार्टीले पनि पार्टीको आधिकारिता पाएसँगै मन्त्री छनोटको कामलाई अगाडि बढाएको छ । जसपाले पार्टीको संसदीय दलको नेता छनोट गर्न शनिबार चुनाव हुने भएको छ । जसपाले पाउन सात मन्त्री छनोट गर्न अध्यक्षद्वय उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र नेता अशोक राईले गृहकार्य अगाडि बढाउनुभएको छ । जसपालाई महन्थ ठाकुर समूह छोडेर आएकाहरुलाई पनि समावेश गरेर मन्त्री छनोट गर्नुपर्ने दबाब रहेको छ ।

जसपाका नेता महेन्द्र राय यादवले मन्त्रीमण्डले पूर्णता पाउनका लागि अझै केही दिन लाग्ने बताउनुभयो । उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘पार्टीको संसदीय दलको नेता चयन गरेपछि मन्त्री छनोटको काम अगाडि बढाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्