लैङ्गिक उत्तरदायी बजेट पद्धतिबारे अन्तरक्रिया, निर्णायक सहभागिता नभएको महिला जनप्रतिनिधिको गुनासो



राम धामी, डडेल्धुरा ।

डडेल्धुराका बिभिन्न स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुले संवैधानिक ब्यवस्था अनुरुप स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गरिएको भए पनि निर्णायक र सार्थक सहभागिता हुन नसक्दा महिला र सिमान्तकृत समुदायका पक्षमा काम गर्न नसकिएको दुखेसो पोखेका छन ।

दलित महिला संघ डडेल्धुराले बिहीबार सदरमुकाममा आयोजना गरेको लैगिंक उत्तरदायी बजेट पद्धति र महिला जनप्रतिनिधीहरुको भूमिका विषयक अन्तरकृयामा सहभागी स्थानीय तहका महिला जनप्रतिनिधीहरुले महिलाहरुको सार्थक र निर्णायक सहभागिता बिना लैगिंक उत्तरदायी बजेट कार्यान्वयन निकै चुनौतीपुर्ण रहेको जिकिर गरे ।

कार्यक्रमका प्रमुख अतिथी अमरगढी नगरपालिकाकी उपप्रमुख संगिता भण्डारीले स्थानीय तहमा बजेट तर्जुमा समितिको नेतृत्व उपप्रमुख या उपाध्यक्षले गरिरहेको भए पनि सो हालसम्म सो समितिको बैठकनै नसकेको दाबी गर्नुभयो । उँहाले स्थानीय तहले ल्याउने बजेट अझै वैधानिक र ब्यबहारिक बन्न नसकेको बताउनु भयो ।

महिलाहरुका समस्या र सरोकारका विषयहरु सम्बोधन गर्न नपाइएको गुनासोगर्दै उपप्रमुख भण्डारीले महिलाहरुले हालसम्मका उपलब्धीहरुको रक्षागर्दै थप अधिकारका लागि संघर्ष गर्ने बेला आएको बताउनु भयो । बजेट तर्जुमा गर्दा महिला जनप्रतिनिधीहरुलाई कुनै जानकारी नगराई निर्णय रजिष्टरमा हस्ताक्षर गराउने परम्परा बस्न थालेकाले यस किसिमका गतिविधीहरुका कारण महिला जनप्रतिनिधीहरु भूमिकाविहीन बन्न पुगेको कार्यक्रमका सहभागीहरु बताउछन ।

‘हामीलाई हस्ताक्षर गराएर फडके किनाराका साछी बनाउने काम भएको छ,’ अमरगढी नगर कार्यपालिका सदस्य गिता नेपालीले भन्नुभयो,‘यस्तो परम्पराले महिला जनप्रतिनिधीहरु भूमिकाविहीन बन्न पुगेका छन् ।’ स्थानीय तहमा बजेट तर्जुमा प्रकृयालाई प्रभावकारी बनाउन सकिएमात्रै लैगिंक उत्तरदायी बजेट पद्धती ब्यबहारिक रुपमा कार्यान्वयनमा आउने जिकिरगर्दै नेपाल महिला संघ डडेल्धुराका अध्यक्ष कमला बिष्टले महिलाहरुको सार्थक सहभागिता बिना मुलुकको विकास र समृद्धी असम्भव भएको बताउनुभयो ।

उँहाले राजनीतिमा सक्रिय महिलाहरुले बिभिन्न चुनौतीको सामना गर्नुपरिरहेको बताउदै सबै महिलाहरुले एकतावद्ध भएर राजनीतिक आस्थाभन्दा माथि उठेर महिलाहरुको हक हित संरक्षणका लागि काम गर्नुपर्ने औल्याउनु भयो । कार्यक्रममा पत्रकार राम धामीले लैगिंक उत्तरदायी बजेट पद्धति कार्यान्वयनको अवस्था र महिला जनप्रतिनिधीहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दलित महिला संघ डडेल्धुराका कार्यक्रम संयोजक सुनिता गैरेद्वारा सञ्चालित कार्यक्रममा स्थानीय तहका महिला जनप्रतिनिधीहरुका साथै डडेल्धुरा जिल्लामा क्रियासिल महिला राजनीतिकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्