कर्णालीका होटल व्यवसायीद्वारा राहत माग



दीपेन्द्र शर्मा, सुर्खेत ।

सुर्खेतका होटल ब्यवसायीले कर्णाली प्रदेश सरकार संग राहतको माग गरेका छन् । होटल व्यवसायी संघ सुर्खेतले विहिवार कर्णाली प्रदेश सरकारलाई आफनो मागपत्र वुझाउदै कोरोनाका कारण थला परेको होटेल ब्यवसायलाई उकास्न राहतको माग गरेका हुन् ।

कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गारख रावतले जानकारी दिनुभयो । “बिगत दुई वर्षदेखि हामी थला परेका छौं,राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन” उहाँले भन्नुभयो ।

कोरोना महामारीको यस्तो अवस्थामा खोप पनि दिन कञ्जुस्याईं गरिरहेको भन्दै अध्यक्ष रावतले ब्यवसायीहरुलाई खोपको ब्यवस्था गर्न सरकारसंग माग गरिएको वताउनुभयो । अध्यक्ष रावतका अनुसार सुर्खेतमा मात्र एक हजार दुइ सय ५० होटलहरुमा पाँच हजार कर्मचारीहरु रहेका छन । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग समेत गरिएको रावतले जानकारी दिनुभयो ।

व्यवसायीको माग प्रति सरकार गम्भीर : मन्त्री बुढाक्षेत्री

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल ब्यवसायीका माग प्रति सरकार गम्भीर रहेको वताउनुभयो ।
ब्यवसायीको मागपत्र वुझदै मन्त्री वुढाक्षेत्रीले कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकोले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रमहरु ल्याउने जानकारी दिनुभयो ।

कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप होटल व्यवसायीहरुलाई पनि लगाउन मन्त्रालयले पहल गर्नेे वताउनुभयो ।“अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोही अनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जेष्ठ नागरिक, सफाईकर्मी र शिक्षकले खोप लगाउने काम भइरहेको छ” उहाँले भन्नुभयाे ।

होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीहरु पनि कोरोनाको जोखिम हुने भएकोले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्