एसियाकै पहिलो सुरुङ पुनर्निर्माण शुरु



हेटौंडा, (नेस) ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, चुरियामाईमा रहेको एक सय ४ वर्ष पुरानो जीर्ण सुरुङ पुनर्निर्माण शुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार सुरुङको पुनर्निर्माण शिलान्यास गर्नुभएको हो । उक्त सुरुङ नेपाललाई संसारभर चिनाउन मद्धत गर्ने हेटौंडास्थित पहिलो सुरुङ हो ।

मुख्यमन्त्री पौडेलले सुरुङले इतिहास बचाउनेमात्र नभएर पर्यटन प्रवद्र्धन र अध्ययनको विषय पनि बनाउने बताउनुभयो । सुरुङ पुनर्निर्माणपछि उक्त क्षेत्रलाई पर्यटकीयरुपमा विकास गरिने उहाँले विश्वास दिलाउनुभयो ।प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सुरुङ पुनर्निर्माण गुणस्तरीय र सुन्दरतासाथ गरिने दाबी गर्नुभयो । उहाँले केही समयपछि भीमफेदी–कुलेखानी सुरुङ पनि निर्माण थालिने बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले नेपालकै पहिलो सुरुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लाग्दा खुशी मिलेको बताउँदा हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले ऐतिहासिक चुरियामाई सुरुङ पुनर्निर्माणपछि पर्यटक बढ्ने बताउनुभयो ।सुरुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी उपमहानगरपालिकाले पनि काम थालेको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाले सुरुङका डिजाइनकर्ता इञ्जिनियर डिल्लीजंग थापाको प्रतिमा स्थापना गरेको छ ।

मकवानपुर र बाराको सिमानमा रहेको सुरुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले ठेक्का लगाएको छ । सन् १९१७ मा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ चुरियामाई सुरुङ बनेको थियो । यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार लागतमा पुनर्निर्माणका लागि सम्झौता गरेको निर्देशनालयका निर्देशक डा. सहदेवबहादुर भण्डारीले बताए । श्री ३ चन्द्रशमशेरको पालामा नेपाली इञ्जिनियर थापाले इञ्जिनियरिङ गरेको सुरुङलाई सम्पदाका रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न माउण्टेन इन्फ्रा कम्पनीको बोलपत्र स्वीकृत भएको छ । निर्देशनालयले निर्माण कम्पनीसँग बैशाख १९ गते सम्झौता गरेको छ । सुरुङ पुनर्निर्माणको काम २०७९ बैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी इञ्जिनियर हरिप्रसाद ओझाले बताउनुभयो ।

दक्षिण एसियामा पहिलो मानवनिर्मित सुरुङबारे नेपाली र विश्व समुदायलाई जानकारी गराएर उनीहरुको ध्यान हेटौंडातर्फ आकर्षित गर्ने उद्धेश्य राखी प्रदेश सरकार अगाडि बढेको हो । हेटौंडा उपमहानगरपालिकाले यससम्बन्धि इतिहास, डिजाइनिङ र प्रसिद्ध चुरियामाई मन्दिरबीचको सम्बन्धबारे आबश्यक प्रमाण संकलन गरिसकेको छ ।सन् १९१७ ताका बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले नेपालीको जनजीवनलाई निकै सहज बनाएको थियो ।नेपाललाई राम्ररी चिनेका र सबै ७५ जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भियाउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ ।

नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर ब्रिगेडियर जनरल थापाको डिजाइनमा सुरुङ तयार भएको इतिहास छ । थापाले देशका १२ वटा महत्वपूर्ण भौतिक संरचना डिजाइन गर्नुभएको थियो । तत्कालीन नेपालमा बहुचर्चित र प्रयोगमा आएको हेटौंडा–काठमाडौं रज्जुमार्ग (रोपवे), १९९० को भुकम्पपछि भत्किएको काठमाडौंको धरहरा र घण्टाघर पुनर्निर्माण, काठमाडौंमा रहेका राणाका दरबारहरु, नेपालको पहिलो रेलवे (जनकपुर–जयनगर), राष्ट्रपति भवन शितलनिवास र पाँचखाल अड्डाको पुनर्निर्माणका निम्ति उहाँले डिजाइनिङ गर्नुभएको थियो । उहाँ जगतजंगका नाति हुनुहुन्थ्यो । जगतजंग, राणा प्रधानमन्त्री जंगबहादुरका नाति हुन् ।थापा, तत्कालीन पूर्वी नेपाल तथा इलामका बडाहाकिम कर्णेल गजराजसिंह थापा तथा श्री ३ जंगबहादुर राणाका ज्येष्ठ सुपुत्री बदनकुमारी थापाका नाति तथा बृक हर्षजंग थापा तथा दीपराजेश्वरी थापाका काहिंला पुत्रका रुपमा १९५० मा जन्मिनुभएको थियो । ५२ वर्ष उमेरमा २००२ चैतमा उहाँको निधन भएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्