देउवा निर्दलीय प्रधानमन्त्री : मेयर शाक्य



नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अदालतको परमादेशबाट बनेको निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले अहिले मुलुकमा दलको प्रधानमन्त्री नभएको टिप्पणी गर्दै भन्नुभयो–‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ, तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ ।’

शाक्यले अहिले स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री भने निर्दलीय रहेको दाबी गर्नुभयो । ‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री नै भएको दाबी गर्दै उहाँले भन्नुभयो– ‘संविधान निर्माताहरूलाई म प्रश्न गर्न चाहन्छु, के संविधान लेख्दा त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ?’ दलीय प्रधानमन्त्री बनाउनुको अर्को विकल्प नभएको उहाँको भनाइ छ । ‘अब स्थानीय तहको निर्वाचन फागनुमा हुँदै छ । त्यतिबेला हामी जनताको घर–दैलोमा पुगेर भन्नुपर्छ । हामीले ०४६ साल अघिको निर्दलीय प्रधानमन्त्री होइन बहुदलीय व्यवस्थापछिको दलीय प्रधानमन्त्री खोजेका हौँ,’ शाक्यले भन्नुभयो, ‘दलीय व्यवस्थालाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्छ । म गगन थापा, विश्वप्रकाश शर्माहरूलाई पनि मुलुकमा निर्दलीय होइन दलीय प्रधानमन्त्री चाहिन्छ भनेर बोल्ने आँट गर्नुहोस भन्ने सुझाव दिन्छु । तर, उहाँहरू अब बोल्नुहुन्न । उहाँहरू दुलो पसिसक्नु भयो । अब हामी बोल्छौँ ।’

नेकपा एमालेबाट निर्वाचित केही सासंदहरूले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको भन्दै प्रश्न गर्नुभयो–‘म उहाँहरूलाई भन्न चाहन्छु । त्यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिनु भएन ? त्यतिबेला मत दिएको भए संसद् विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन ।’

प्रतिक्रिया दिनुहोस्