प्रधानमन्त्रीद्वारा फिल्म क्षेत्र चलायमान गराउन सघाउने आश्वासन



प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघको नेतृत्वमा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका करिब पाँचदर्जन बढी कलाकर्मीलाई उनले आश्वासन दिएका हुन् । त्यस अवसरमा फिल्मकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्र धराशायी बनेको, लामो समयदेखि फिल्महलहरू बन्द भएको र कलाकारहरू काम विहीन भएको जानकारी गराउँदै कला क्षेत्र पहिलेकै अवस्थामा फर्काउन सरकारको सहयोगको खाँचो रहेको बताएका थिए ।

खादा र फूलमालासहित प्रधानमन्त्री निवास पुगेका फिल्मकर्मीले पाँचौं पटक देशको प्रधानमन्त्री हुन सफल भएकामा प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए। उक्त अवसरमा नेपाल सांस्कृतिक संघका तर्फबाट अध्यक्ष तीर्थ थापाले प्रधानमन्त्री देउवालाई सम्मान—पत्रसमेत प्रदान गरेका थिए। त्यस अवसरमा उनीहरूले कलाकारका लागि कोरोनाविरुद्धको खोपको माग समेत गरेका थिए । ‘प्रधानमन्त्रीले कलाकर्मीका लागि सरकारले चाँडै खोपको व्यवस्था गर्ने बताउनुभएको छ’ संघकी रोशनी केसीले जानकारी गराइन् । त्यसैगरी, संघका महामन्त्री शिवशंकर रिजालले प्रधानमन्त्रीको राष्ट्रिय भ्रमणमा कलाकारलाई पनि सहभागी गराउन अनुरोध गरे। प्रधानमन्त्री देउवाले राष्ट्रिय भ्रमणमा कलाकारलाई समेट्ने वचन दिनुभएको रिजालले बताए।

कार्यक्रममा संघका अध्यक्ष थापा, महामन्त्री रिजाल, रोशनी केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला, अभिनेता भुवन केसी, शितल केसी, गोपाल ढकाल ‘छन्दे’, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, निर्माता निर्देशक नरेश पौडेललगायत कलाकर्मी एवं संस्कृतिकर्मीहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्