असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा खोप भित्रिने



भगवती तिमल्सिना, काठमाडौं ।

सरकारले असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संघीय प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त जानकारी दिनुभएको हो ।

सचिव अर्यालका अनुसार केपी ओली नेतृत्वको सरकारले बनाएको योजनासमेतलाई समावेश गरी असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप नेपाल आउँदै छ । उहाँले भदौ पहिलो साता कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख मात्रा र भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप आउने जानकारी दिनुभयो ।

चीन सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता गरेको भेरोसेलको १६ लाख मात्रा साउनकै अन्तिम सातासम्म आइसक्ने तथा भारतबाट आउन बाँकी १० लाख मात्रा कोभिसिल्ड भदौको दोस्रो सातासम्म आइपुग्ने पनि अर्यालले बताउनुभयो । उहाँले कोभ्याक्सबाट निःशुल्क १ करोड १३ लाख, कोभ्याक्सबाट कोभिसिल्ड, मोडर्ना, फाइजर, ज्यानसेन (जोन्सन एन्ड जोन्सन), एस्ट्राजेनेका गरी १ करोड ५० लाख मात्रा, बालबालिकाका लागि फाइजरको ६० लाख मात्रा खोप आउने जानकारी दिनुभयो ।

सरकारले कुल जनसंख्याको ७ दशमलब २ प्रतिशत पहिलो प्राथमिकतामा रहेका २ करोड १ सय ५६ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्षसम्मका ४९ लाख गरी जम्मा २ करोड ६५ लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेअनुरूप असोज मसान्तसम्म ३३ प्रतिशत र चैत महिनाभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य राखेको अर्यालको भनाइ थियो ।

सरकारको लक्ष्यअनुरूप हालसम्म नेपालले ९७ लाख ८२ हजार ५ सय ५० मात्रा खोप प्राप्त गरिसकेको छ । त्यसमा कोभ्याक्स सुविधाबाट जम्मा १८ लाख ८२ हजार ८ सय ५० मात्रा, कोभिसिल्ड ३ लाख ४८ हजार, अमेरिकाबाट ज्यानसेन १५ लाख ३४ हजार ८ सय ५० मात्रा रहेको छ । आइतबारसम्म ३४ लाख ५ हजार १ सय ५४ जनाले खोपको पहिलो मात्रा र १४ लाख ३० हजार ४ सय १६ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

सरकारले छिमेकी मुलुक भारत, चीनका साथै बेलायत, जर्मनी, इटाली, कोरिया, स्पेन, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रेलिया, अमेरिका, जापान, स्विजरल्यान्डलगायतका मुलुकसँग खोप सहयोग प्राप्त हुने भन्दै सम्भावित कार्यतालिकासमेत तयार पारेको छ ।
कोरोना संक्रमणको अवस्था

२०७६ माघ ९ गते चीनबाट नेपाल फर्किएका जनकपुरका एक विद्यार्थीमा पहिलोपटक कोरोना संक्रमण देखिएको २ महिनापछि मात्र दोस्रो केस देखिएको थियो । यो अवधिमा १७ हजार ५ सय २ जना संक्रमित भेटिएका थिए । यो परीक्षणको पोजिटिभिटी दर औसतमा ५ दशमलब ६ प्रतिशत रहेको थियो । सचिव अर्यालका अनुसार अहिलेसम्ममा २०७७ असार १९ गते सबैभन्दा बढी संक्रमित देखिएकोे थियो । कात्तिकमा पुग्दा पहिलो लहर उच्च बिन्दुमा पुगेको थियो । कात्तिक ५ गते उच्च बिन्दुमा पुग्दा ५ हजार ७ सय ४३ जना नयाँ संक्रमित भेटिएका थिए । कात्तिक १० गते परीक्षणको पोजेटिभिटी दर सबैभन्दा उच्च अर्थात् ३५ प्रतिशत पुगेको थियो । २०७७ चैत १ गते सबैभन्दा कम अर्थात् जम्मा ५३ जना संक्रमित भएका थिए ।

चैतको पहिलो हप्तादेखि विस्तारै संक्रमण बढ्न शुरु गरी २०७८ साल वैशाखको अन्तिम सातामा आएर दोस्रो लहर उच्च बिन्दुमा पुगेको थियो । वैशाख २७ गते परीक्षणको पोजेटिभिटी दर हालसम्मकै सबैभन्दा उच्च अर्थात् ५१ दशमलब ८ प्रतिशत पुगेको थियो भने जेठ ६ गते एकै दिनमा सबैभन्दा बढी १ हजार ७ सय ४८ जना संक्रमितहरू आईसीयूमा भर्ना भएका थिए । जेष्ठ ८ गते सबैभन्दा बढी ५ सय २३ जना संक्रमितहरू भेन्टिलेटरमा थिए । वैशाख २८ गते सबैभन्दा बढी सक्रिय संक्रमित भेटिएको थियो । उक्त दिन सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६३ पुगेको थियो ।

साउन ९ गतेसम्म कुल संक्रमित संख्या ७ लाख ३३ हजार २ सय ६० रहेको थियो भने निको हुनेको संख्या ८८ प्रतिशत अर्थात् ६ लाख ४१ हजार ५ सय ६५ रहेको छ । जसमा २६ हजार ४ सय १९ सक्रिय संक्रमितमध्ये ५ सय ९२ जना आईसीयूमा र १ सय ७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ९ हजार ७ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय शिक्षा तथा स्वास्थ्य समितिमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्