कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ : कानुनमन्त्री जोशी



विमल विष्ट, डोटी ।

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता पुर्णा जोशीले पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार अहोरात्र खटिएको बताउनुभयो ।

जिल्ला सदरमुकाम सिलगढीमा नेकपा एमाले पार्टीले आज सोमबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री जोशीले केही दिन यता सुदूरपश्चिममा बढीरहेको कोरोना प्रति चिन्ता व्यक्त गर्नु हुँदै त्यसको नियन्त्रण तथा रोकथामका लागि सरकार गम्भीर रुपमा लागि परेको बताउनु भएको हो ।

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री जोशीले भन्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ, नागरिकले पनि सचेत सहित स्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी छ ।” यसैगरी मन्त्री जोशीले सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको कानूनको पूर्ण कार्यान्वयन गर्ने र थप आवश्यक पर्ने कानून निर्माण गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा उहाँले प्रदेशमा भएको भनिएको भ्रष्टाचार र कमिशनको कुरालाई आफुले गम्भीर रुपले लिएको र प्रमाण सहित भेटाए जोसुकै व्यक्तिलाई पनि कानुनी दायरामा ल्याएर कार्वाही गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

मन्त्री जोशीले खुटिया दिपायल फास्ट ट्रयाक संघीय सरकारको मातहतमा भए पनि प्रदेश सरकारको पहिलो प्राथमिकतामा राखेको, कोरोना भाईरसको न्यूनीकरण तथा त्यसको जोखिमबाट बच्न प्रदेश सरकारले पुर्व तयारी गरि आवश्यक बजेटको व्यवस्था मिलाएको, संघीय सरकारसँग आकस्मिक बिरामीको लागि हेलिप्याडको र पहाड तथा तराइँको जुनसुकै ठाउँमा पनि आकस्मिक बाटोघाटो अबरुद्ध भएको खण्डमा भनेर कम्तिमा २० वटा ह्याभी इक्युपमेन्ट उपलब्ध गराइदिन पहल गरेको जानकारी दिनुभयो ।

जिल्ला कारागारमा रहेका कैदिबन्दिहरुलाई सिपमुलक तालिम र कारागारमा जिर्ण रहेको भवनहरुको मर्मत गर्ने प्रदेश सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला पुग्नु भएका मन्त्री जोशीलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले जिल्ला सदरमुकाम सिलगढीमा स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्