महानगरको २१ वडा भवन शिलान्यास



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो ।
‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ । अहिले मुलुकमा दलको प्रधानमन्त्री छैन ।’

शाक्यले अहिले स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको दाबी गर्नुभयो । ‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो । यो विडम्वनापूर्ण अवस्था हो,’ उहाँले भन्नुभयो, ‘संविधान निर्माताहरुलाई म प्रश्न गर्न चाहन्छु । के संविधान लेख्दै त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ?’उहाँले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुनसक्ने बताउनुभयो । ‘दलको ह्वीप नलाग्ने, दलको ह्वीप नमान्ने सांसदलाई दलले कारवाही गर्न नपाउने त्यस्तो पनि हुन्छ ? हिजो हामी जुन व्यवस्थाको विरुद्धमा लागेका थियौँ अहिले त्यही व्यवस्थातर्फ धकेल्ने कार्य भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो गलत छ । योचाँहि प्रतिगमन हो । अहिले प्रधानमन्त्री बनाउने प्रक्रिया नै प्रतिगामी छ ।

दलीय प्रधानमन्त्री बनाउनुको अर्को विकल्प नभएको उहाँको भनाई छ । ‘अब स्थानीय तहको निर्वाचन फागनुमा हुँदैछ । त्यतिबेला हामी जनताको घर–दैलोमा पुगेर भन्नुपर्छ । हामीले ०४६ साल अघिको निर्दलीय प्रधानमन्त्री होइन बहुदलीय व्यवस्थापछिको दलीय प्रधानमन्त्री खोजेका हौँ,’ शाक्यले भन्नुभयो, ‘दलीय व्यवस्थालाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्छ । म गगन थापा, विश्वप्रकाश शर्माहरुलाई पनि मुलुकमा निर्दलीय होइन दलीय प्रधानमन्त्री चाहिन्छ भनेर बोल्ने आँट गर्नुहोस भन्ने सुझाव दिन्छु । तर, उहाँहरु अब बोल्नुहुन्न । उहाँहरु दुलो पसिसक्नु भयो । अब हामी बोल्छौँ ।’

‘ह्वीप नमान्नु पार्टीको नितिविरुद्ध कामः मेयर शाक्य

प्रमुख शाक्यले पार्टी भनेको आफ्नो घर भएको भन्दै । जुन घरमा हामी बसेका छौँ, त्यो घरको नीति अनुसार, त्यो परिवारको नीति अनुसार चल्नुपर्नेमा पनि जोड दिनुभयो । ‘म निर्वाचनमा सूर्य चिन्ह लिएर उठेको थिएँ । मलाई मतदाताले मेयरमा निर्वाचित गर्नुभयो । अब म रुख चिन्हमा भोट हाल्छु भन्दै हिँड्न मिल्छ ? मेरो नैतिकताले दिन्छ ? मिल्दैन, दिदैँन,’ उहाँले भन्नुभयो, ‘अहिले केही साथीहरुले यस्तै नमिल्ने काम गरिरहनु भएको छ । कुनै दलको चिन्ह लिएर चुनावी मैदानमा आउने अनि विर्नाचित भएपछि स्वतन्त्र बन्ने परिकल्पना हामीले गरेका थिएनौँ । तर, अहिले त्यस्तै काम भैरहेको छ । यो क्षणिक समयका लागि मात्रै हो ।’ उहाँले दलीय व्यवस्थालाई मास्ने काम भैरहेको र यो गलत परम्पराको थालनी भएको ठोकुवा गर्नुभयो ।

नेकपा एमालेबाट निर्वाचित केही सासंदहरुले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको पनि उहाँले बताउनुभयो । ‘म उहाँहरुलाई भन्न चाहन्छु । त्यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिनु भएन ? त्यतिबेला मत दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन,’ उहाँले भन्नुभयो, ‘अहिले अर्को पार्टीको नेतालाई भोट दिएर प्रधानमन्त्री बनाउने अनि संसद बचाएको भन्ने कुरा लोकप्रिय बन्न खोज्ने कुरा मात्रै हो ।’

तस्वीर : बिवेक महर्जन

 

प्रतिक्रिया दिनुहोस्