पहिले म्याच गरेन भनेर स्वर हटाउने संगीतकारले अहिले अफर गर्नुहुन्छ: एलिना चौहान



के माया लाग्छ र बोलको गीत गाएपछि गायिका एलिना चौहान एकाएक चर्चामा आइन्। अघिल्लो लकडाउनको समयमा निशान भट्टराईको साथमा उनले गाएको सो गीत रातारात हिट हुन पुग्यो। उनको के माया लाग्छ र सार्वजनिक भएलगत्तै टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यममा छाउन पुग्यो। फरक शैलीको स्वर र गायकीका कारण एलिना सो गीतबाट चर्चाको शिखरमा पुगिन्। यसअघि, नै इन्स्टाको फोटो, तिम्रो मायाले बाँधेर राख, सागर बरु सुकेर गईजालाजस्ता कभर सङका कारण दर्शक स्रोताको मन जितिसकेकी एलिनालाई के माया लाग्छ र बोलको गीतले नामसहित काम पनि थपिदियो। युवा पुस्तामाझ लोकप्रिय एलिनाको गायन यात्रा भने केवल तीन वर्ष अगाडिबाट शुरू भएको हो। यो छोटो अवधिमा एलिनाले नेपाली संगीत जगतलाई के माया लाग्छ र, पानी पँधेरो, मिनिरल वाटर, यो भाग्यमा खोट छ, मेरो बाबालगायतका दर्जनौं चर्चित गीत दिइसकेकी छिन्। २२ वर्षीया उनी पछिल्लो समय निकै व्यस्त गायिकाको सूचीको अग्रस्थानमा छिन्। पछिल्लो समय काठमाडांैमा रहेर गीत संगीतलाई अगाडि बढाइरहेकी झापाकी एलिनासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

गीत रेकर्डिङ गरिरहेकी छु। तीज नजिकिँदै गएकाले अहिले धेरैजसो तीज गीत रेकर्डिङ र म्युजिक भिडियो सुटिङलगायतका काम गरिरहेको छु।लकडाउनका बेला तपाईंको गीत भाइरल भयो। व्यस्तता बढ्दै गर्दा फेरि भएको लकडाउनले करिअरलाई कत्तिको असर पु-याएको छ ? लकडाउनकै कारण गीत रेकर्डिङमा धेरै असर परेन। लकडाउनमा पहिलेको तुलनामा गीत नभए पनि केही गीत रेकर्डिङ गरिरहेकी थिएँ। अघिल्लो लकडाउनको समयमा गीत हिट भएपछि मेरो व्यस्तता निकै बढेको थियो। धेरै काम पाइरहेकी थिएँ। एकै दिनमा सात वटासम्म गीत रेकर्ड गराएकी थिएँ भने अन्य दिनमा ४-५ वटा गीत रेकर्डिङ हुन्थे। यतिकैमा दोस्रो चरणको लकडाउन भयो। थोरै थोरै गीत रेकर्डिङ त भइरहेको थियो, तर भर्खरै मात्र स्टेज कार्यक्रम पाउन थालेका कारण स्टेज कार्यक्रममा सहभागी हुन थालेको थिएँ। त्यही बेला लकडाउन भएपछि स्टेजमा पर्फम गर्ने अवसर पाइनँ। लकडाउन नभएको भए विदेशका कार्यक्रममा सहभागी हुन पाउँथें होला। यत्तिका गीतहरू हिट हुँदा स्वदेश तथा विदेशका कार्यक्रममा व्यस्त हुन्थें होला। त्यो अवसरचाहिँ गुमेको छ।

व्यस्तताअनुसार कमाइ हुन्छ ?

कमाइ राम्रो छ। तर, म एउटा गीत गाएको पारिश्रमिक यति नै भनेर फिक्स रेट राख्ने गर्दिनँ। मान्छे र अवस्था हेरेर पारिश्रमिक लिने गरेकी छु। कोही चिनजानको हुनुहुन्छ, कोही भर्खरै स्ट्रगल गर्दै गरेको नयाँ कलाकारसँग पनि गाएको छु। उहाँहरूका लागि म त्यहीअनुसार कम पारिश्रमिक लिन्छु। कमाएको अनुसार बचत पनि गर्छु। मलाई गायिका भएर पनि पब्लिक बस र ट्याम्पु चढेर हिँड्छे भन्छन् होला भनेर सोच्दिनँ। मास्क लगाएर हिँड्छु। कसैले चिनेर फोटो खिच्न अनुरोध गर्दा खुसी लाग्छ। म यसैका लागि त काम गरिरहेको छु भने किन लुक्नु जस्तो लाग्छ।

पारिवारिक जिम्मेवारीहरू पनि छन् कि ?

हो, छ। अहिले पूरै परिवारको जिम्मेवारी मैले नै सम्हालिरहेको छु। भाइ बहिनीहरू पढाइरहेको छु। पहिले बाबा विदेशमा हुनुहुन्थ्यो, बाबाको कमाइ हुन्थ्यो। अहिले नेपाल आउनुभएका कारण बाबाको काम छैन। घरखर्चदेखि लिएर सबै मैले नै चलाइरहेको छु। सधंै बाबाले मात्र घर हेर्नुपथ्र्यो। अहिले आर्थिक रूपमा पारिवारिक जिम्मेवारी बहन गर्न सकेकोमा गर्व लाग्छ।

झापामा रहँदा गायनलाई अगाडि बढाउन मुस्किल हुन्थ्यो कि ?

झापामा हुँदा गीत रेकर्डिङका लागि बेला—बेलामा काठमाडाै आइरहन्थेँ। बेला —बेलामा कभर गीत गाएर युट्युबमार्फत दर्शकमाझ पु¥याउँथें। त्यहीमार्फत् दर्शकले चिन्न थाल्नुभएको थियो। इन्स्टाको फोटो बोलको कभर गीतपछि दर्शकका नजरमा परेकी थिएँ भने अवसर पनि पाउँदै आइरहेकी थिएँ। यत्तिकैमा लकडाउन भएपछि रेकर्डिङहरू पूरै रोकिएको थियो। म झापा फर्किएँ। अघिल्लो लकडाउनकै बेला के माया लाग्छ र भन्ने गीतका लागि अफर आयो। लकडाउनकै बेला झापाबाट बाइकमा काठमाडौं आएर त्यही दिन बेलुका उक्त गीत रेकर्ड गरिएको थियो। त्यो गीत दर्शकले निकै मन पराइदिनुभयो। कभर गीतहरूबाट प्रशंसा पाए पनि धेरै काम पाएको थिइनँ। त्यसपछिका दिनमा संगीतकारहरूको पनि नजरमा पर्न थालेँ र व्यस्तता बढ्दै जान थाल्यो।

झापाबाट काठमाडौं आएर गीत संगीतमा लाग्दाको दिन कस्ता थिए ?

मैले गीत गाउन थालेको धेरै भएको छैन। करिब तीन वर्ष भयो। गायनमै लाग्छु भनेर सानैदेखि संगीत सिकेको पनि होइन। अरूले मेरो स्वर राम्रो छ भनेको सुनेपछि गाउन सक्छु कि भनेर प्लस टुपछि मात्र राम्रोसँग गाउन थालेकी हुँ। म झापामा रहँदा स्कुलमा पढाउने काम गर्थें। १७ वर्षको उमेरदेखि नै स्कुलमा पढाउन शुरू गरेकी थिएँ। त्यही पैसा जम्मा गरेर बेला-बेलामा गीत रेकर्डिङका लागि काठमाडौं अँइरहन्थें। यो बीचमा केही कभर गीतका कारण दर्शकले चिन्न थाल्नुभएको थियो र केही काम पनि पाइरहेकी थिएँ। गीत गाउन काठमाडाै आउँदा स्कुल धेरै छुट्थ्यो। समय दिन नसकेका कारण तपाईंले समय दिन सक्नुभएन भनेर स्कुलबाट हटाइयो। केही गीतबाट राम्रो प्रशंसा पाएका कारण म अब जसरी पनि गायनमा लाग्छु भन्ने सोच बनाएकी थिएँ। त्यहीअनुरूप ममीलाई म काठमाडौं जान्छु, राम्रो गर्न सकिनँ भने पनि सिकेर आउँछु भनेर कन्भिन्स गरेर यहाँ आएको थिएँ। झापामा हुँदा स्कुल पढाएको पैसा बचत गरेर राखेको थिएँ। जुन पैसा केही महिनाका लागि होस्टेल बस्नलाई पुग्ने थियो। त्यही लिएर काठमाडाै आएँ। संगीत सिक्न शुरू गर्नुका साथै १५ दिन वा एक महिनामा गीत रेकर्डिङ भइरहन्थ्यो। त्यसैको कमाइले जीवन चलिरहेको थियो। काठमाडाैमा नयाँ हँुदा कतिपय ठाउँ नचिनेर हराउने गर्थें। कभर सङमार्फत धेरैले चिन्नुहुन्थ्यो। तर, गीत गाउने क्रममा पहिला अफर आएर गाएको गीत पनि कतिपय संगीतकारले स्वर म्याच गरेन भनेर हटाइदिने गर्नुहुन्थ्यो। केही समय नराम्रो लागे पनि एक दिन अवश्य राम्रो हुन्छ भनेर मन बुझाउँथें। तर, अहिले तीनै संगीतकारले मलाई गीत गाउन अफर गर्नुहुन्छ।

यही उमेरमा यत्तिको सफलता पाउँछु भन्ने सोच्नुभएको थियो ?

गीत गाउँदै गर्दा एक न एक दिन विस्तारै सफल हुन्छु भन्ने सोच थियो। किनभने म जे-जसो भए पनि संगीतमै लाग्छु संगीत नै सिक्छु, गायनमा राम्रो गर्न सकिनँ भने पनि अरूलाई संगीत सिकाउँछु भनेर काठमाडाै आएकी थिएँ। तर, केही कभर गीत र के माया लाग्छ र बोलको गीतका कारण एकाएक चर्चामा आउँछु र यति छिट्टै यति व्यस्त हुन्छु भन्ने चाहिँ लागेको थिएन।

घर परिवारबाट कत्तिको सहयोग पाइरहनु भएको छ ?

ममीले त पहिलेबाट नै मैले गाएको राम्रो छ भन्नुहुन्थ्यो, सर्पोट गरिरहनुहुन्थ्यो। बाबाले चाहिँ गीत संगीतभन्दा पढाइ ठूलो हो, पढाइलाई नै फोकस गरेर पढाइ सकेर मात्र गायनमा लाग्नु, गायनलाई अप्सनमा राख्नु भन्ने गर्नुहुन्थ्यो। कतिपय गीत गाएको बाबालाई थाहा पनि हुँदैनथ्यो। ममीलाई म गीत संगीतमै केही गर्छु भनेर कन्भिन्स गरेर काठमाडौं आएको थिएँ। जुन कुरा बाबालाई थाहा थिएन। मेरो गीत हिट हुन थालेपछि र म व्यस्त हुन थालेपछि मात्र बाबालाई म काठमाडाैमै बस्न थालेको थाहा भएको थियो। बाबालाई छोरीलाई काठमाडांैमा एक्लै बस्न गाह्रो हुन्छ भन्ने चिन्ता थियो। पछि बाबालाई म बस्ने गल्र्स होस्टेलमा लगेर देखाएँ, यहाँ राम्रो वातावरण हुन्छ, नराम्रो केही पनि हुँदैन भनेर बुझाएँ। त्यसपछि बाबालाई केही भनिरहनुपरेन। कुरा भन्दा पनि राम्रो काम अभिभावकलाई देखाउन सकियो भने उहाँहरूले आफंै बुझ्नुहुन्छ। बाबाले शब्दहरू छानेर गाउनु, अफर धेरै आयो भन्दैमा जस्तो पायो त्यस्तै गीत नगाउनु भन्नुहुन्छ।

अभिनयमा पनि रुचि छ कि ?

रुचिले भन्दा पनि आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय या लिप्सिङ गर्नैेपर्ने कारणले गरेको हँु। अरूको गीतमा पनि अफर आइरहेको हुन्छ, तर अभिनयमा खासै रुचि नभएको कारण खेल्ने गरेको छैन।

अबको योजना के छ ?

गीत संगीतमै अझ राम्रो गर्ने र यसैलाई निरन्तरता दिने सोच छ।

प्रतिक्रिया दिनुहोस्