बाढी प्रभावित हेलम्बुमा गैरआवासीय नेपाली संघ क्षेत्रिय समिति म्याड्रिडद्वारा राहत वितरण



दिपेन्द्र गजुरेल, स्पेन ।

गैरआवासीय नेपाली संघ, क्षेत्रिय समिति म्याड्रिडको सक्रियतामा नेपालको बाढी पहिरो प्रभावि हेलम्बुका ११ घर परिवारलाई राहत वितरण गरिएको छ ।

असारे झरिसंगै नेपालका विभिन्न जिल्लामा गएको बाढीपहिरोबाट पिडित परिवारलाई म्याड्रिडमा बसोबास गर्ने नेपालीहरुले सहयोग उपलब्ध गराएका हुन् । हरेक वर्ष सयौँ घरपरिवार बाढि पहिरोको चपेटामा पर्दै आएका छन् । यस वर्षको बाढीबाट हेलम्बु क्षेत्र अति प्रभावित भएको थियो । आफ्नो जन्मभूमिको यस्तो अवस्थामा परदेशी नेपाली चुपचाप बस्न नसुहाउने भन्दै एनआरएनए म्याड्रिड समितिको सक्रियतामा उठेको सहयोग रकम वितरण गरिएको समितिका अध्यक्ष मेघनाथ ढकालले बताए ।

अध्यक्ष ढकालले भने,’ जहाँ भएपनि हामी नेपाली हौ नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ।’

त्यस्तै, गैर आवासीय नेपाली संघ म्याड्रिडका सचिव सागर श्रेष्ठ भोटेले तत्काल समितिमा बसेर छलफल गरेको र म्याड्रिड स्पेनले मेलम्ची हेलम्बु रिलिफ फण्ड नामबाट सबैको सहयोगमा एक लाख तिन हजार रकम संकलन गरेको बताए ।

अध्यक्ष ढकालले आफूले गैरआवासीय नेपाली संघ, म्याड्रिडको नेतृत्व गरेपछिको पहिलो सामाजिक काम भएको बताउँदै दैविक आपत विपतमा सहयोग गरेका सबै सहयोगी नेपाली मनहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

संकलन भएको राहत सामाग्री हेलम्बु सम्म पुर्याउन समितिका महिला संयोजक तथा राष्ट्रिय खेलाडी झरना गुरुङ्गले बिशेष भूमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्