ठेचाकोे नवदुर्गा मन्दिरमा गजुर राखियो



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहिबार गजुर स्थापना गरिएको छ । सो मन्दिर २०७२ को भूकम्पले क्षति पुर्‍याएको थियो ।

पुरात्तत्व विभागले पुनर्निर्माण गर्न २०७६ मा भ्याट बाहेक २ करोड १६ लाख ६३ हजार २ सय ३६ रुपैया बजेट बिनियोजित गरेको थियो । नवदुर्गा मन्दिर ठेचोका रैथानेका इष्टदेवता हुनुहुन्छ । नवदुर्गा मन्दिर उपत्यकाका विभिन्न शक्तिपीठ मध्ये एक मानिन्छ ।

नवदुर्गा भवानी देवी गुठी अध्यक्ष धर्मराज मालीले मन्दिरको सत्तल संग्रहालयको रुपमा परिणत गर्ने योजना रहेको बताउनुभयो । ‘ नवदुर्गा मन्दिरको अर्को गुठी घर निर्माण सम्पन्न भएपछि त्यहाँ संस्कृति सम्पदा बारे अध्ययन अनुसन्धान गर्न आउने विदेशीहरु बस्ने होमस्टे बनाउने लक्ष्य छ,’ उहाँले भन्नुभयो ‘यसले नवदुर्गा गुठीसंगै गोदावरी नगरपालिकालाई राजश्व भित्रेर मुलुकको अर्थतन्त्र बलियो बनाउन थप टेवा पुग्नेछ ।’

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नवदुर्गा नाच संरक्षण प्रवद्र्धन गर्न अक्षयकोषको व्यवस्था गरेको बताउनुभयो । ‘१२ वर्षे जात्रा सञ्चालन गर्न पनि छुट्टै अक्षयकोषको व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो ।

नवदुर्गा नाच प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा ४ दिन पाटन दरवार क्षेत्रस्थित मूलचोकमा प्रर्दशन गर्नुपर्ने प्रचलन छ । पाटन दरवारसंग सम्बन्धित सबभन्दा पुरानो जात्रा लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र नवदुर्गा नाच हुन् । देवमाला वंशावलीमा उल्लेख भएअनुसार ठेचोमा नवदुर्गा मन्दिर स्थापना गरेर ७ सय घरधुरी बसाली ठेचो बस्ती स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्