नेपाल समूहप्रति मुख्यमन्त्री पौडेलको गर्जन: ‘जघन्य अपराध’ को क्षमा हुँदैन



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित उहाँको समूहले गरेको ‘जघन्य अपराध’ को क्षमा नहुने बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले माधव नेपाल समूहको जघन्य अपराधलाई एमालेका कार्यकर्ताले कहिल्यै नभुल्ने र त्यो क्षमालायक नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–एउटा पार्टीबाट निर्वाचित भएर आफ्ना पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई गलहत्याएर अर्को पार्टीलाई सरकारको नेतृत्वमा पुर्‍याउने उनीहरुको जघन्य अपराधको क्षमा हुँदैन । त्यो आपराधिक क्रियाकलापलाई इतिहासले कहिल्यै माफी दिनेछैन ।

सरकारी निवास बालुवाटार छाडेर निजी निवास भक्तपुरको बालकोट पुग्नुभएका निवर्तमान प्रधानमन्त्री केपी ओलीले निजी निवासबाट नेकपा एमालेकै माधव नेपाल समूहप्रति कटाक्ष गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको यस्तो भनाइ आएको हो । केपी ओलीको यस्तो अभिव्यक्ति अघि मुख्यमन्त्री पौडेलले माधव नेपाल समूहप्रति सार्वजनिकरुपमा यस्तो टिप्पणी गर्नुभएको थिएन ।

मुख्यमन्त्री पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण आफूलाई एमाले भन्नेहरुकै ‘गद्धारी’ रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल–सुखी नेपाली’ निर्माणको अभियानमा लागिरहेको इतिहासकै सफल ओली नेतृत्वको सरकारलाई ढालेर पटकपटक अक्षम प्रमाणित भइसकेको व्यक्तिलाई सत्ता सुम्पन महत्वपूर्ण भूमिका खेल्ने एमालेका नेताहरु माफीलायक नरहेको जिकिर गर्नुभयो । नेकपा एमालेमात्र देशको शक्ति रहेको भन्दै उहाँले आगामी निर्वाचनमा अत्यधिक बहुमतसहित फेरि सिंहदरबार प्रवेश गर्ने दाबी गर्नुभयो ।

आगामी महिनामा शेरबहादुर देउबा सरकारले विश्वासको मत प्राप्त नगर्ने भन्दै उहाँले सरकार परिवर्तन हुनसक्ने धारणा व्यक्त गर्नुभयो । ‘अनेकौं छलकपट र चक्रव्युहको अवस्था सिर्जना गरेर एमालेलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुँदैछ,’ पौडेलले भन्नुभयो ।

ओली नेतृत्वको सरकारले आमनागरिकले थाहा पाउने गरी विकासको लहर ल्याएको भन्दै उहाँले तीन वर्षमा सरकारले ३० वर्षअघिको भन्दा धेरै विकास गरेको बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ बाट गत स्थानीय तहमा राप्रपाका वडा अध्यक्षका उम्मेद्वार मीनबहादुर घलानसहित राप्रपा, नेपाली कांग्रेस तथा माओवादी केन्द्रका तीन दर्जन कार्यकर्ता एमालेमा प्रवेश गराउँदै मुख्यमन्त्री डोरमणि पौडेलले उहाँहरुलाई एमालेमा स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले देशको समृद्धि नेकपा एमालेले मात्र गर्ने बताउनुभयो । उहाँले एमालेमा हाल देशभर प्रवेशको लहर छाएको भन्दै उहाँले एमालेबाहेक कुनै दलले देशको समृद्धिको नेतृत्व गर्न नसक्नेसमेत बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका बागमती प्रदेश संगठन विभाग प्रमुख/संविधानसभा सदस्य मञ्चका संयोजक अनन्त पौडेलले देशमा एकाएक कानुनी राजको अन्त्य भएको दाबी गर्नुभयो । ललिता निवासको जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता विजय गच्छदारले अदालतमा १० लाख धरौटी बुझाएर उन्मुक्ति पाउन थालेको भन्दै नेता पौडेलले केही दिनमा दर्जनौंलाई ईंटाभट्टामा जिउँदै पोल्ने आलम पनि छुट्नसक्ने आशंका व्यक्त गर्नुभयो ।

नेता पौडेलले भन्नुभयो–जनादेशलाई उल्टाएर परमादेशले बनेको यो सरकार भ्रष्टाचारी, अपराधी र धोकेबाजहरुको जमघट हो । पहिलो गाँसमै ढुंगा भनेझैं ललिता निवास जग्गा प्रकरणका दोषी गच्छेदारले उन्मुक्ति पाएका छन् भने अब आफताब आलमहरुले पनि मुक्ति पाउनेछन् । चार पटकका असफल प्रधानमन्त्री शेरबहादुरको यो कार्यकाल आर्थिक अराजकता र व्रह्मलुटको कार्यकाल हुनेछ ।

एमाले प्रवेश गर्नेहरुमा मानबहादुर तामाङ, सोमबहादुर गुरुङ, सञ्जय बिक, कृष्ण महर्जन, चन्द्रबहादुर गोले, भीमलाल गोङ्बा, गणेश घलान, कमला थिङलगायत छन् ।

कार्यक्रममा प्रदेशसभा सांसद् जुनेली श्रेष्ठ, एमाले मकवानपुर सचिव लालबहादुर थापा, एमाले हेटौंडा नगर अध्यक्ष शालिकराम पुडासैनी र युवा संघका स्थायी कमिटी सदस्य सन्तोष चौलागाईंलगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्