बढ्यो कांग्रेसको चुनावी चहलपहल



नेपाल समाचारपत्र, डोटी ।

डोटीमा नेपाली कांग्रेसको चुनावी चहलपहल निकै बढेको छ । १४औं महाधिवेशनको मिति तय भएपछि पार्टी सभापतिका आकांक्षिहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरे पनि भित्रभित्रै कसरत भने गरिरहेका छन् ।

सभापतिलगायतका आकांक्षीहरु अहिले सदरमुकाम केन्द्रित भएका छन् । संघीयताको संरचनाअनुसार काग्रेसले पहिलोपटक महाधिवेशन गर्न लागेकाले यसपटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको कांग्रेस नेता तथा पूर्वसंविधानसभा सदस्य यज्ञराज पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रदेखि जिल्लासम्म सभापति, पदाधिकारीका बारेमा अड्कलबाजी गर्न शुरु भइरहेको छ ।

आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा सात गाउँपालिका र दुई नगरपालिकासहित नौवटा स्थानीय तहमा रहेका कम्तीमा पनि २ हजार बढी क्रियाशील सदस्यले सहभागिता जनाउने भएका कांग्रेस नेता पदमराज जोशीले जानकारी दिनुभयो । पार्टी सभापतिका लागि वर्तमान सभापति प्रदीपकुमार देउवा, उपसभापति लक्ष्मणबहादुर सिंह, महासमिति सदस्य भूमिराज वडु, नरेन्द्र सिंह, लोकेन्द्र शाही, दीलबहादुर बम, पूर्वउपसभापति रामप्रसाद उपाध्यय, दीपककुमार विष्ट, नेपाली कांग्रेस डोटी ‘ख’ का क्षेत्रीय सभापति सीताराम जोशी, जिल्ला सदस्य तथा ‘क’ का पूर्वक्षेत्रीय सभापति जितबहादुर खड्का लगायतको नाम निकै चर्चामा रहेको छ ।

संशोधित कार्यतालिका अनुसार गाउँ, नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँपालिका, नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुँदै छ । यसै गरी, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्