जंगलमा दाँत र केशसहितको ‘बोक्सीको सिसी’ भेटियो



लन्डन, (एजेन्सी) ।

हालै ४८ वर्षीय ‘क्रिस ल्यान्गस्टन’ नामक एक व्यक्तिले बेलायतमा आफ्नो घरनजिकको जंगलमा घुम्ने क्रममा एउटा अनौठो सानो सिसी फेला पारेका छन् । साउथवेस्ट न्युज सर्भिसका अनुसार जंगलको एक छेउमा रहेको फुटेका भाँडाकुँडाहरूको थुप्रोमा उनले तरल पदार्थमा मानव दाँत र केश डुबाएको अवस्थामा सो सिसी फेला पारेका हुन् । पहेंलो रंगको सो तरल पदार्थ पिसाब हुनुपर्ने अनुमान गरिएको छ ।

ल्यान्गस्टनले त्यहाँ वरपर भेटिएका कचौरा अन्य वस्तुहरूको आधारमा त्यो सिसी कमसेकम सन् १९०० देखि १९१० बीचको हुनुपर्ने बताएका छन् ।

उनी त्यस जंगलमा भेटिएका रहस्यात्मक वस्तुहरूबारे यस्तो भन्छन्– ‘मैले निलो रंगको विषको सिसी र भाँचिएको पुतली पनि भेटाएको छु । तिनीहरू पनि सन् १९०० तिरकै हुनुपर्छ । मैले दाँत भएको सिसीबारे केही अनलाइन अनुसन्धान गरें । पछि यो सन् १८६० तिरको हुनुपर्ने र यो बोक्सीहरूले प्रयोग गरेको हुनसक्ने पत्ता लगाएँ ।

मन्त्र फुक्दै जादु र टुनामुना गरेर अरूलाई हानी पुर्‍याउने उद्देश्यसहित यस्ता वस्तुहरू फाल्ने गरिन्छन् । वास्तवमा यस्ता कुरामा विश्वास लाग्दैन थियो । तैपनि, खतरा नमोल्ने हिसाबले मैले सिसी भेटेकै स्थानमा लगेर गाडिदिएको छु ।’

प्रतिक्रिया दिनुहोस्