तालिवान धमाधम अफगान भूभाग कब्जा गर्दै



काबुल, (एजेन्सी) ।

कट्टरपन्थी इस्लामिक लडाकु समूह तालिवानले उत्तर अफगानिस्तानमा नाटकीय ढंगले आफ्नो प्रभाव र नियन्त्रण बढाउँदै लैजाने क्रममा शनिबार इरान र तुर्कमेनिस्तानसँग जोडिएको प्रमुख बोर्डर क्रसिङ कब्जा गरेको छ ।

लडाकुहरूले सीमा क्षेत्रमा रहेका दुईवटा प्रमुख शहर इरान नजिकको इस्लाम क्वाला र तुर्कमेनिस्तान नजिकको तोर्घुन्दी कब्जा गरेको दाबी गरेका छन् ।

सार्वजनिक गरिएको भिडियो फुटेजमा सीमा क्षेत्रको एउटा भन्सार कार्यालयमा तालिवान फौजले अफगान झण्डा निकाल्दै गरेको देखिन्छ ।
अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजका अन्तिम डफ्फाले अफगानिस्तान छाडेलगत्तै तालिवान समूहले धमाधम अफगान भूभाग कब्जा गर्न थालेको छ ।

तालिवान अधिकारीहरूले आफ्ना लडाकुहरूले अफगानिस्तानको ८५ प्रतिशत भूभाग कब्जा गरिसकेको जानकारी दिएका छन् । तर, तिनीहरूको यो भनाइ औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।

अन्य एक सूत्रले पनि तालिवानले अफगानिस्तानको चार सय वटामध्ये एक तिहाइ जिल्लालगायत इरान र चीनसँग जोडिएका भूूभागमा कब्जा गरिसकेको जनाएको छ ।

यसै साताको शुरूमा अमेरिकी फौजले चुपचाप महत्वपूर्ण सैनिक हवाई अखडा बाग्राम छाडेको थियो । कुनै समय यस अखडामा एक लाख अमेरिकी सेनासम्म तैनाथ हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्