कहिले बन्छ पक्की तटबन्ध ?



कुमार श्रेष्ठ, बाँके ।

नरैनापुरको भगवानपुर गाउँलाई बचाउन राप्ती नदीमा बाँसको तटबन्ध बनाइएको छ भने केही ठाउँमा जालीमा ढुंगा राखेर तटबन्ध बनाइएको छ ।

उता भारतले भने दशगजामै सडकजस्तो पक्की तटबन्ध बनाएको छ । राप्ती नदीमा लक्ष्मणपुर बाँध बनाएर नदीको पानी रोकिएको छ । नदीको अन्य भंगालोसँगै अरू खोला नालाको बहाव रोक्न भारतले दशगजामै सडकजस्तो पक्की तटबन्ध बनाएको छ । भारतले पानी रोक्न यसरी पक्की तटबन्ध बनाउँदा नेपालतर्फ भने बाँसको अस्थायी तटबन्ध बनाइएको छ ।

भारतले लक्ष्मणपुर बाँध र कलकलावा तटबन्धका साथै दशगजामै सडकजस्तो बाँध बनाएपछि नदीको प्राकृतिक बहाव रोकिएको छ । त्यसले गर्दा नदीले धार परिवर्तन गरिरहेको छ । सात वर्षअघिसम्म भगवानपुर गाउँबाट राप्ती नदी तीन किलोमिटर टाढा थियो । अहिले एउटा भंगालो गाउँ छेउमै आएको छ । मूल नदी पर पुगिसकेको छ । होलियाको पिप्रहवा, टेपरीका बासिन्दालाई राप्ती नदी मोडिएपछि अलि डर कम भएको छ । अहिले त्यहाँ नजिक डुडुवा नाला बगिरहेको छ । राप्तीको मूल नदी टाढा पुगिसकेको छ ।

भगवानपुर गाउँलाई बचाउन राप्ती नदीमा बनाइएको अस्थायी तटबन्धले ठूलो बाढी आएमा गाउँ जोगिने देखिंदैन । त्यसो त २०७१ सालको बाढीले तल्लो क्षेत्रका चार सय घरधुरीलाई उठिबास लगाइसकेको छ । अलिमाथि रहेका घरहरूलाई बचाउन कतै ढुंगा त कतै बाँसको तटबन्ध बनाइएको छ ।

सरकारले जनताको तटबन्ध कार्यालयमार्फत राप्ती नदीमा तटबन्ध बनाइरहेको छ । यो भगवानपुर गाउँसम्म पुगिसकेको छैन । अहिलेसम्म ठाउँ–ठाउँमा गरेर १७.५ किलोमिटर तटबन्ध बनेको छ । काम युद्धस्तरमा हुन सकिरहेको छैन ।

२०७१ र २०७४ सालमा ठूलो बाढी आयो । त्यसपछि राप्ती नदीमा ठूलो बाढी आएको छैन । बाढी नआए पनि बर्खामा तटीय क्षेत्रका बासिन्दाको ढुकढुकी बढ्ने गर्दछ । राप्ती नदीमा राम्रो तटबन्ध बन्न नसकेकाले वर्षेनी तटीय क्षेत्रका बासिन्दालाई डुबानमा पर्ने चिन्ताले सताउने गरेको छ । भगवानपुरका कैलाश तिवारी भन्नुहुन्छ–‘पक्की तटबन्ध बनाइदिए हामीलाई डुवानको डर हुने थिएन । तर बाँसको तटबन्धले कहाँबाट बाढी छेक्छ र ? ।’

राप्ती नदीले धार परिवर्तन गरिरहँदा कहिले कुन गाउँ जोखिममा पर्छ भन्न सकिने अवस्था छैन । सात वर्ष अघिसम्म होलियाको पिप्रहवा, टेपरी, कृषि चौफरीमा सींधै राप्ती नदी ठोक्किन्थ्यो । नदीले धार परिवर्तन गरिरहँदा राम्रो खाद्यान्न उत्पादन हुने ठूलो भूभाग मरुभूमि बनिरहेको छ । सरकारले नदीको दुवै किनारमा पक्की तटबन्ध नबनाएसम्म तटीय क्षेत्रमा डुबानमा पर्ने स्थानीय बताउँछन् । भारतले दशगजामै पक्की तटबन्ध बनाउँदा नेपालले पनि त्यही प्रकारको बलियो संरचना बनाउन जरुरी रहेको स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्