भेन्टिलेटरबाट फर्किइन् निशा



नर्भिक अस्पतालकी प्रबन्धक तथा निर्देशक मेघा चौधरीले उद्धार गरी सो अस्पतालमा उपचार पाइरहेकी मोडल तथा अभिनेत्री निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ।

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

मेघाले निशालाई गत जेठ २७ गते उद्धार गरी शुरूवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम खटाएकी छिन्। घिमिरेले केही दिनअघि दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भई श्वास फेर्न कठिनाइ भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो। दाँतले टोकिएको गालाको भित्री भागमा टाँका लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको र गत २१ गते भेन्टिलेटरमा राखिएकी घिमिरेलाई २३ गते नै पुनः भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ। उपचारपछि निशा आफैँ श्वास फेर्न सफल भएको तथा घाउ समेत निको हुने क्रममा रहेको र बाँकि स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकहरूले जनाएका छन्। हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ।

नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ। डा। पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ। अस्पतालमा आउँदा जिउँदो लासजस्तो रहेकी उनको अवस्थामा निकै सुधार भएको छ भने पछिल्लो समय बोल्नेसमेत कोशिस गरिरहेकी छिन्।

डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन्। उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए। जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्णरूपमा सामान्य हुने सम्भावना भने न्यून छ। ‘उहाँको ब्रेन निकै ड्यामेज भएको छ’ डा। जलान भन्छन् ‘तर, आएको बेलाको तुलनामा घाउ निको हुन थालेका छन्। हामीले डाइट र थेरापीमा फोकस गरेका छौँ। प्रोटिन, क्यालोरिजहरू प्रशस्त दिइरहेका छौँ।’

तीन वर्षअघि अभिनय पढ्न भारत गएकी निशा त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्