बैंक लुटेरालाई कोर्रा नहानिने



सिङ्गापुर सिटी, (एजेन्सी) ।

सिङ्गापुरको एक अदालतले बुधबार सन् २०१६ मा बैंक लुटेका एक जना क्यानाडाली पुरुषलाई पाँच वर्ष लामो कारावास सजाय सुनाएको छ । तर उनलाई सुपुर्दगी गरिने शर्तअनुसार ६ कोर्रा हान्ने थप सजाय भने छुट हुने भएको छ ।

विश्वमै अपराधको घटना दर अत्यन्तै न्यून रहेको दक्षिण–पूर्वी एसियाको धनी मुुलक सिङ्गापुरमा भएको उक्त बैंक डकैतीलाई लिएर सुरक्षा व्यवस्थाप्रति नै प्रश्न खडा भएको थियो ।

बैंक लुटेकै दिनमा अहिले ३१ वर्ष उमेरका ती डेभिड जेम्स रोच सिंगापुरबाट भाग्न सफल भएका थिए । पछि उनी बेलायतमा पक्राउ परेका थिए । बेलायत सरकारले गत वर्षको मार्चमा शारीरिक सजाय नदिइने शर्तअनुरूप उनलाई सिंगापुरसमक्ष सुपुर्दगी गर्ने सहमति गरेको थियो । रोचले सन् २०१६ को जुलाईमा सिङ्गापुरको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिब २२ हजार २ सय १५ अमेरिकी डलर चोर्न सफल भएका थिए । उनी चोरी पत्ता लगाइनुअघि नै तत्कालै थाइल्यान्डतर्फ भाग्न सफल भएका थिए । थाइल्यान्डमा हिरासतमा लिइएका उनलाई सिङ्गापुरकै अनुरोधमा सन् २०१८ को जनवरीमा बेलायती प्रहरीले लन्डनमा पुग्नासाथ गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्