भारतको मन्त्रिमण्डलमा व्यापक हेरफेर



नयाँदिल्ली, (एजेन्सी) ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारमा नयाँ ३६ जना मन्त्री ल्याएका छन् । सन् २०१४ सत्तामा पुगेयता मोदीले आफ्नो मन्त्रिमण्डलमा गरेको यो सबैभन्दा ठूलो हेरफेर हो ।

सूचना तथा प्रविधि (आइटी) र स्वास्थ्यमन्त्रीलगायत मन्त्रिमण्डलका कम्तिमा १२ जना सदस्यले मन्त्रिमण्डल हेरफेर गरिनुअघि नै पदबाट राजीनामा दिएका थिए । आफ्ना सहकर्मीहरूलाई राजनीतिक मार्ग प्रशस्त गरिदिने उद्देश्यले तिनीहरूले राजीनामा दिएको हुनुपर्ने राजनीतिक विश्लेषकहरूको अनुमान रहेको छ । वर्तमान ५२ सदस्यीय मन्त्रिमण्डलको आकार बढेर नयाँ मन्त्रिमण्डलमा ७७ जना मन्त्री पुगेका छन् ।

महत्वपूर्ण चुनावी क्षेत्र उत्तर प्रदेशलगायत अन्य राज्यहरूमा चुनाव हुने तयारी भइरहेको अवस्थामा यसरी मन्त्रिमण्डलमा हेरफेर गरिएको हो ।

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा अक्षमता र अर्थतन्त्र गिर्दै गइरहेको विषयलाई लिएर सरकारको आलोचना भइरहेको अवस्थामा यसरी मन्त्रिमण्डल फेरिएको हो ।

भारतमा सानादेखि ठूला शहरहरूमा पनि बेस्सरी फैलिएको दोश्रो चरणको कोभिड–१९ महामारीमा थप हजारौंले ज्यान गुमाउन पुगेका छन् । बुधबार शपथग्रहण गर्ने नयाँ मन्त्रीहरूमा पूर्वविपक्षी विधायक तथा गत वर्ष मात्र मोदीको भारतीय जनता पार्टीमा प्रवेश गरेका ५० वर्षीय ज्योतिरादित्य सिन्धिया, असाम राज्यका पूर्वमुख्यमन्त्री ५८ वर्षीय सर्वानन्द सोनोवाल र कंग्रेस पार्टीका पूर्वनेता नारायण रानेसमेत रहेका छन् ।

स्वास्थ्यमन्त्री हर्ष वद्र्धनले बुधबार नै पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्