नेपालले खोजे अधिकार



काठमाडौं, (नेस) ।

नेकपा एमालेभित्रको जारी विवाद समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भए पनि सहमतिको जुट्न सकेको छैन । विवाद समाधान गर्न गठित कार्यदलभित्र सहमतिको मस्यौदा तयार भए पनि दुई नेताबीच सहमति नहुँदा प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

चार दिनयता दैनिकरुपमा कार्यदल सक्रिय बन्दै आएको छ । कार्यदलका नेताहरुको पहलमा दुई नेताबीच प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक भेटवार्ता भएको थियो । तर भेटका क्रममा नेता नेपालले पार्टीभित्र अधिकार बाँडफाँडमा प्याकेजमै सहमति हुन अडान लिएपछि सहमतिको प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ ।

कार्यदलका एक नेताका अनुसार नेपालले उधारो सहमति नगरी व्यावहारिक रुपमा नै लागू हुने गरी सहमतिको गर्न प्रस्ताव राख्नुभए पनि अध्यक्ष ओलीले निःसर्त सहयोग गर्न आग्रह गर्दा कुरा मिल्न सकेको छैन ।

बिहीबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकमा पनि कुनै सहमति नजुटी सकिएको थियो । कार्यदलका सदस्य सुवास नेम्वाङले सहमतिलाई निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको बताउनुभयो । बैठकपछि उहाँले भन्नुभयो– ‘सहमतिलाई निष्कर्षमा पुर्‍याउन छलफल र सम्पर्क भइरहेको छ, भोलि ठोस सहमति जुटाउन प्रयास हुन्छ ।’

बैठकपछि प्रतिक्रिया दिँदै कार्यदलका सदस्य घनश्याम भुसालले दश दिनदेखि कार्यदलको बैठकमा कुनै पनि प्रगति नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दश दिनअघि सहमतिको एजेन्डा तय भएको थियो, यस बीचमा खासै केही पनि प्रगति भएको छैन ।’  कार्यदलको बैठक आज बिहान ११ बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्