पहिरोमा परेका तीनको निधन



किरण धामी, दार्चुला ।

वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मञ्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मणसिंह सतोली रहेका छन् ।

बुधबार राति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर एकै परिवारका दुई जना र अन्य एक गरी तीन जनाको मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उक्त पहिरोमा परेर अर्की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी उहाँको भनाइ छ । बुधबार राति पहिरोसँगै खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खारखोला दोस्रो लघु जलविद्युत् आयोजना पनि बगाएको छ । बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुलसमेत बगाएको छ ।

उद्धारका लागि घटनास्थल तथा जिल्लाभरका प्रभावित क्षेत्रतर्फ प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक भट्टले बताउनुभयो । गाउँपालिका–६ धुलीगाडास्थित दुईवटा पानी घट्ट, तीन आरसीसी पुल, तीन खानेपानीका मुहान बगाएको छ, भने स्वास्थ्य चौकी भवन जोखिममा रहेको खबर प्राप्त भएको उहाँ बताउनुहुन्छ ।

घटना बुधबार रातिको भए पनि फोन नेटवर्कको समस्याका कारण ढिलो गरी जानकारीमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्