प्रदेश राजधानी कार्यान्वायनको थालनी



नरेन्द्र केसी, घोराही ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यान्वायन खोलेर स्थायी राजधानीमा गुरुयोजना निर्माणका काम थालेको प्रदेश सरकारले एउटा मन्त्रालय पनि ल्याएपछि गतिविधि बढ्न थालेको हो ।

भौतिक संरचना कम भएको ठाउँमा राजधानी तोकिएकाले प्रदेशसभा र प्रदेशसभाका निकायहरू तत्काल सार्न समस्या भइरहेको थियो । राजधानी घोषणाको नौ महिनापछि ग्रामीण तथा शहरी विकास मन्त्रालय मंगलबारदेखि औपचारिकरूपमा काम थालेको छ । योसँगै प्रदेश राजधानी कार्यान्वायन विधिवतरूपमा शुरू भएको ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले जानकारी दिनुभयो ।

गत वर्ष असोज २० गते प्रदेशबाट प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका (देउखुरी) तोकिएको थियो । नाम तत्काल कार्यान्वयनमा आए पनि राजधानी कार्यान्वायनमा भने ढिलाइ भइरहेको थियो ।

आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने गरी प्रदेशसभाको हल निर्माण पनि धमाधम भइरहेको छ । यसअघि नै प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणले कार्यान्वयन खोलेर देउखुरीबाटै काम गरिरहेको छ भने संघीय सरकारको स्वामित्वमा रहेको राप्ती प्राविधिक शिक्षालयको जमिन तथा भवन पनि प्रदेश सरकारको स्वामित्वमा हस्तान्तरण गरेर प्रदेश राजधानी व्यवस्थापनको काम अघि बढिसकेको छ ।

राजधानी क्षेत्रको जग्गामा अस्वाभाविक कारोबार नहोस् भनेर प्रदेश सरकारले जग्गा किन–बेच रोक्का गरेर खुला गरिसकेको छ । राप्ती गाउँपालिकाले एक हजार ६ सय ५१ बिघा जमिनमा प्रदेश राजधानीका संरचना बनाउन सकिने गरी सिफारिस पनि गरिसकेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो ।

दाङका राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका दुई वडामा प्रदेश राजधानीका विभिन्न संरचना निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । प्रदेश सरकारले शुरूदेखि नै स्पष्ट गुरुयोजनासहित प्रदेश राजधानी बनाउने घोषणा गरेकाले पनि राजधानी कार्यान्वायनमा आउन केही ढिला भएको मन्त्री रिजालले जानकारी दिनुभयो । प्युठान निवासी रिजाल मन्त्री भएलगत्तै स्थायी राजधानीबाट काम थाल्ने तयारी गर्नुभएको थियो भने असार २३ गतेदेखि मन्त्रालयले औपचारिकरूपमा काम थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय पनि चाँडै देउखुरीबाट सञ्चालन गर्नेगरी तयारी थालिएको मन्त्री रिजाललले जानकारी दिनभुभयो ।

यो मन्त्रालय माताहत खानेपानी तथा सरसफाइ स्वच्छता, भवन आवास तथा शहरीकरण र पर्यटन प्रवद्र्धन तथा विकास गरी तीन क्षेत्रको काम देउखुरीबाट शुरू भएको मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले जानकारी दिनुभयो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले संसद् भवन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्