चीनबाट ४० लाख भेरोसेल खोप ल्याइँदै

3.57k
Shares

काठमाडौं, (नेस) ।

चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ ।

सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५ मिनेटमा ‘भेरोसेल’ खोप लिएर फर्कने कार्यतालिका छ ।

कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको हो । सोही सम्झौताअनुसार पहिलो चरणमा १० लाख डोज खोप आउँदै छ ।

दोस्रो खेप खोप लिन नेपाल एयरलाइन्सकै विमान शुक्रबार अर्थात् ९ जुलाईमा बेइजिङ जाने कार्यतालिका रहेको छ । त्यसैगरी १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप, २२ जुलाईमा पाँचौं र २३ जुलाईमा छैटौं खेप ल्याइँदै छ । यो खोप ६० वर्षमुनिका उमेर समूहका नागरिकलाई प्राथमिकताको आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म भित्रिएको ४२ लाख ४८ हजार खोपमा १० लाख मात्रा कोभिसिल्ड भारत सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप उपलब्ध गराएको जनाएको थियो भने १० लाख मात्रा नेपाल सरकारले खरिद गरेको २० लाख मात्रामध्येबाट आएको थियो । त्यसैगरी एक लाख मात्रा भारतीय सेनाले नेपाली सेनालाई अनुदान दिएको र तीन लाख ४८ हजार कोभ्याक्सको प्रतिबद्धताअनुसार आएको छ । चीन सरकारले पहिलो चरणमा आठ लाख मात्रा र दोस्रो चरणमा १० लाख मात्रा गरी जम्मा १८ लाख मात्रा भेरोसेल खोप नेपाललाई अनुदानस्वरूप उपलब्ध गराइसकेको छ ।

सरकारले १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । प्राप्त खोपबाट हालसम्म आठ लाख ५१ हजार तीन सयलाई दोस्रो मात्रासमेत लगाइसकेको छ । २६ लाख ११ हजार आठ सय सात जनालाई भने खोपको पहिलो मात्रा खोप लगाई सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्म जम्मा ३४ लाख ६३ हजार एक सय सात जनालाई कोरोनाविरुद्धको खोप लगाईसकिएको छ ।

Skip This