‘थिङ्क ट्याङ्कहरूमा राजनीतिक संक्रमणको नकारात्मक प्रभाव’



काठमाडौं, (नेस) ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले राजनीतिक संक्रमणको नकारात्मक प्रभाव विश्वविद्यालयलगायत नीति निर्माणमा सघाउने थिङ्क ट्याङ्क तथा अध्ययन अनुसन्धान केन्द्रहरूमा समेत परेको बताउनुभएको छ ।

परराष्ट्र अध्ययन मामिला प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको ‘रिसर्च सिम्पोजियम’लाई सम्बोधन गर्दै ज्ञावलीले राजनीतिक संक्रमणको नकारात्मक प्रभावले यस्ता थिङ्क ट्याङ्क तथा अध्ययन अनुसन्धान केन्द्रको गुणस्तर खस्कँदै गएकाले हस्तक्षेप गर्ने बेला आएको बताउनुभयो ।

हुन त बेलाबेलामा परराष्ट्र अध्ययन मामिला प्रतिष्ठान आफैंले पनि राजनीतिक हस्तक्षेपका कारण प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणीहरू हुने गरेको छ ।

सरकारले अपनाउने वा अपनाएको विभिन्न नीतिको अध्ययन, विश्लेषण र अनुसन्धान गरी त्यसको सुधारका लागि सरकारलाई आवश्यक सुझाव दिन गठित नीति अनुसन्धान प्रतिष्ठानले पनि स्वतन्त्ररूपमा काम गर्न नपाएको चर्चा उत्तिकै चल्ने गरेको छ । गठन भएको आठ महिनामै प्रतिष्ठानका संयोजक समाजशास्त्री चैतन्य मिश्रले स्वतन्त्ररूपमा काम गर्न नपाएको भन्दै राजीनामा दिनुभएको थियो । जबकि, उहाँलाई प्रधानमन्त्री केपीशर्मा ओली स्वयंले नै भेटेर प्रतिष्ठानको नियुक्तिमा दलीय भागवण्डा नहुने र प्रतिष्ठान स्वतन्त्र रहने सुनिश्चित गर्नुभएको थियो ।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले प्रतिष्ठानलाई स्वायत्तता प्रदान नगरेसम्म प्रभावकारी ढंगले काम गर्न नसक्ने बताउनुभयो । उहाँको यो भनाइसँगै प्रतिष्ठानले अझै पनि स्वतन्त्ररूपमा काम गर्न नपाएको पुष्टि हुन्छ । उहाँले नीति अनुसन्धान प्रतिष्ठानको संस्थागत विकास गर्न यसमा कार्यरत मानव संशाधनको क्षमता अभिवृद्धिमा राज्यको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो । नीति प्रतिष्ठान, परराष्ट्र अध्ययन मामिला प्रतिष्ठानजस्ता प्रतिष्ठानलाई राज्यले नै पर्याप्त बजेट उपलब्ध गराउनुपर्नेमा जोड दिँदै अध्यक्ष उप्रेतीले राज्यले पर्याप्त बजेट उपलब्ध नगराई विदेशी दाताको भर पर्नुपरेसम्म यस्ता प्रतिष्ठानबाट राष्ट्रले अपेक्षित प्रतिफल नपाउने धारणा राख्नुभयो ।

कार्यक्रममा परराष्ट्रविद् एवं पूर्वराजदूत डा. दिनेश भट्टराईले थिङ्क ट्याङ्कलाई आवश्यक खर्च सरकारले नै उपलब्ध गराउनुपर्नेमा जोड दिँदै यस्ता थिङ्क ट्याङ्क विदेशी दाताको लगानीमा चल्न नहुने धारणा राख्नुभयो । उहाँले परराष्ट्र नीतिको सवालमा नेतृत्वकर्तामा नैतिक र आत्मिक बल जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा रविशंकर सैंजुले ‘आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय व्यापार सहजीकरण’, डा. प्रमोद जैसवालले ‘दक्षिण एसिया र चीनका मूलधारका थिङ्क ट्याङ्कहरूको मूल्याङ्कन’ र डा. नरेशनाथ रिमालले ‘कोभिड–१९ का कारण स्वदेश फर्किएका नेपाली र सीमा सुरक्षा तथा परराष्ट्र मामिलाको सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्