प्रताप बानियाँ, म्याग्दी ।
गए राती परेको वर्षासँगै आएको बाढीपहिरोका कारण पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन छिस्बाङमा ६ घर विस्थापित भएका छन् । वस्ती नजिकै खहरेखोलामा आएको बाढीले ६ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खहरेखोलाको कटानले छिस्बाङका ३ घर पूर्ण रुपमा क्षति भएका छन्भने अन्य घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो ।
यसैगरी मालिका गाँउपालिका–६, दुखुमा पनि वर्षाकै कारण एक परिवार विस्थापित भएको उहाँले जानकारी दिनुभयो । छिस्बाङ र दुखुमा गरी २६ जना विस्थापितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । त्यस्तै वर्षाकै कारण अवरुद्ध बनेको म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
सडकभन्दा माथिबाट खसेको पहिरोले पु¥याएको अवरोधलाई हटाएपछि सडक सुचारु भएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । सरोकारवालासँगको समन्वयपछि वर्षासँगै खसेको ढुङ्गा, माटो र लेदोसहितको गेगरलाई पन्छाएर सडक खुलाइएको हो । वर्षाका कारण बाढीपहिरोले रघुगंगा गाउँपालिका–३, गलेश्वर, चमेरे, रघुगंगा–१, बेगखोला र अन्नपूर्ण–३, दानाको रुप्से खोलामा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।
पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पुनः सुचारु भएको छ । गए रातीको वर्षाका कारण सडकभन्दा माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४, घुमाउनेभीर तथा मालिका–६, दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा पु-याएको अवरोधलाई पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ ।
यसैबीच वर्षाकै कारण बेनी–पोखरा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८, सुन्दरेखोलामा आएको बाढीका कारण गए रातीदेखि अवरुद्ध यो सडकखण्ड पनि बुधबार दिउँसोबाट खुलेको छ । सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनको हेभी इक्वीपमेन्ट प्रयोग गरेर सडक खुलाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । बाढीमा परेर मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनका साइट इञ्चार्ज राजाराम आचार्य र सवारी चालक ईन्द्र थारु बेपत्ता भएका छन् । यता पश्चिम म्याग्दीको मगला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरेखोलामा आएको पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।












प्रतिक्रिया