भारतीय विदेश सचिव मिश्री भोलि काठमाडौँ आउँदै


काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्ने चर्चा चलिरहेकै समयमा भारतका विदेश सचिव विक्रम मिश्री भोलि बुधवार नेपालको दुई दिने भ्रमणमा काठमाडौँ आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले सोमवार प्रेस विज्ञप्ति जारी गरी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप अघि बढाउन र सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गर्ने उद्देश्यले मिश्रीको भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा भारतीय विदेशसचिवले नेपाली समकक्षी राईसँग द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी साझा चासोका विषयमा छलफल गर्नुका साथै नेपाल –भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुहुने बताइएको छ ।

दुई दिने भ्रमणको क्रममा उहाँले नेपालका उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीवार स्वदेश फर्कनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने अपेक्षा राखिएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिरको दोस्रो सातामा हुने चर्चा चले पनि भ्रमणको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन ।