नेपालले पाउने भयाे अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप



न्युज अफ नेपाल, काठमाडौ ।

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप नेपालमा आउँने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोप मध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो ।

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउँने बिषयमा स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई उदृत गरि लेखेको पत्रले प्रष्ट्याएको छ ।

मन्त्रालयको पत्रमा उल्लेख गरिए अनुसार १५ लाख ३४ हजार ८ ५० डोज अमेरिकी खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो ।
उक्त खोप आयात अनुमतिका लागि स्वास्थ्य मन्त्रालयले औषधी व्यवस्था विभागलाई पत्राचार गरेको छ । अमेरिकाले उपलब्ध गराउँने कोरोना भाईरस बिरुद्धको जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको भारतीय ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ । यी दुबै खोप दुई मात्रा लगाउनुपर्ने खोप हुन् ।

कोभ्याक्सले नेपालको कुल जनसंख्याको २० प्रतिशत खोप नेपाललाई निःशुल्क उपलब्ध गराउने भनेकोमा ३ महिना अघि पहिलो चरणमा ३ लाख ४८ हजार डोज ‘कोभिसिल्ड’ उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको खोप लक्षण नदेखिइ हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने दाबी गरिदै आएको छ । उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । खोपको प्रभावकारिताका बिषयमा थप अध्ययन अनुसन्धान रिपोर्ट बिस्तृत रुपमा सार्वजनिक भने भैसकेको छैन । हालसम्म प्राप्त खोपहरुमध्ये कोभिसिल्ड एक भायलमा दस डोज, भेरोसेल एक भायलमा एक डोज थियो भने अमेरिकि जोन्सनको खोप एक भायलमा पाँच डोज रहेको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्