न्युज अफ नेपाल, म्याग्दी ।
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको छिस्बाङमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ ।
पहिरोमा परेर मालिका–६, दरबाङको रातढुङ्गा घर भई हाल छिस्बाङमा पसल गरेर बस्ने २२ वर्षीय गजिन रोका र उहाँकी श्रीमती विना रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गए राती परेको भीषण वर्षासँगै छिस्बाङ खहरेखोलामा आएको बाढीपहिरोले घर बगाउँदा रोका दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो ।
वर्षासँगै ढुङ्गा, लेदोमाटो र गेगरसहित आएको बाढीपहिरोमा परेका रोका दम्पत्तिको मृत अवस्थामा शव भेटिएको सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।
राती घरमा सुतिरहेको अवस्थामा खहरेखोलामा आएको बाढीपहिरोले घरसँगै रोका दम्पत्तिलाई बगाएको थियो भने पसल गरेको पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी तथा मंगला र मालिका गाउँपालिकाका जनप्रतिधिसहित स्थानीयले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् ।











प्रतिक्रिया