पुरस्कारको रकम सिन्धु सहायता र चलचित्रकर्मी विपद् कोषलाई



अभिनेत्रीत्रय भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसालद्वारा सञ्चालित भुवन चैत्य वसुन्धरा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएको विभिन्न पुरस्कारको रकम कलाकारहरूद्वारा सञ्चालित सिन्धु सहायता कोष र चलचित्र विकास बोर्डअन्तर्गत गठन भएको चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई प्रदान गरिएको छ।

२०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण वसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी पुरस्कार कोभिडको दोस्रो भेरियन्टका कारण लगाइएको निषेधाज्ञा तथा बाढी पहिरोले जनजीवनमा पुर्‍याएको क्षतिलाई मध्यनजर राख्दै स्रष्टा सर्जकलाई प्रदान नगरी कलाकारहरूद्वारा सञ्चालित सिन्धु सहायता कोष र चलचित्र विकास बोर्डअन्तर्गत गठन भएको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनकी अध्यक्ष भुसालको अध्यक्षतामा बसेको बैठकले यी पुरस्कारहरूको रकममध्ये एक लाख दुई हजार सिन्धु सहायता कोष र एकाउन्न हजार चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई प्रदान गर्ने निर्णय गरेको हो।

कोभिडको दोस्रो भेरियन्टको प्रकोप रहिरहेकाले ठूलो जमघट नगरी सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्ललाई एक लाख दुई हजार रुपियाँहस्तान्तरण गरिएको फाउन्डेसनका सचिव मोहन निरौलाले जानकारी गराए। सो अवसरमा कोषकी सह—संयोजक करिष्मा मानन्धर, सदस्य सचिव कृष्ण ढुंगाना, सदस्य जितु नेपाल, चेतन सापकोटा ,शिवहरी वैरागी र फाउन्डेसनका पदाधिकारी सहभागी थिए। चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई अर्पण गरिने एकाउन्न हजार नगद भने बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिने जनाइएको छ ।

चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई क्रियाशील बनाउनुपर्ने मान्यता राखी यसअघि नै नेपाल चलचित्र कलाकार संघले ५५ हजार रूपियाँप्रदान गरिसकेको छ। यसअघि, गत २०७६ सालमा फाउन्डेसनको स्थापना वर्षको पुरस्कार चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एक लाख त्रिपन्न हजार रुपियाँप्रदान गरिएको थियो। त्यसैगरी, गत वर्ष २०७७ सालको पुरस्कार अभिनेत्री तथा रंगकर्मी शकुन्तला शर्मा, नृत्य निर्देशक भैरवबहादुर थापा र ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्