चिनियाँ सीमामा पहिलोपटक सशस्त्रको बीओपी

0
Shares

दार्चुला, (नेस) ।

दुई ठूला राष्ट्र चीन र भारतसँग सीमा जोडिएको दार्चुला जिल्लाको चीनसँगको सीमा टिंकरमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा कार्यालय (बीओपी) स्थापना हुने भएको छ ।

मन्त्रीपरिषद्को निर्णयअनुसार व्यास गाउँपालिका–१ मा पर्ने टिंकरस्थित भन्सार कार्यालयको जग्गामा बीओपी स्थापनाका लागि भवन निर्माण कार्य धमाधम भइरहेको छ । बाह्रै महिना सीमामा सुरक्षाकर्मी बस्ने व्यवस्था हुने गरी हुन लागेको भवनको निर्माण कार्य आधा सकिएको सुरक्षा स्रोतले जनाएको छ ।

एक करोड लागतमा निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण कार्य एलबी कन्सट्रक्सन धनगढीले गरिरहेको छ भने भवन निर्माणका लागि व्यास गाउँपालिकाको सुन्सेराबाट हेलिकोप्टरले निर्माण सामग्री ढुवानी गरिरहेको छ । ठेकेदारको हेलिकोप्टरले बीओपी निर्माणका लागि आवश्यक पर्ने प्यानल सेट र पाइपहरू गरी करिब ६ हजार किलोग्राम निर्माण सामग्री ढुवानी गरिरहेको बताइएको छ ।

सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका लाली, जौलजीवी, दत्तु, दम्लिङ र छाङरु गरी ४ बीओपीसहित १ गुल्म स्थापना गरिसकेको छ । त्यसै गरीे चीनसँगको सीमामा बीओपी स्थापना गर्न भवन निर्माण गरिरहेको छ ।