नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै



चितवन ।

वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ । आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहनुभएका उहाँले भन्नुभयो, “लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।”

पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उहाँले जानकारी दिनुभयो । त्यस ठाउँमा खेती गरिँदै आएको छ । सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउनुहुन्छ । एक सातायता सो सडकले दुःख दिइरहेको छ । उहाँले भन्नुभयो, “अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न शुरु गरेको हो ।” असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो रु निकै जोखिम बढेको भन्दै उहाँले भन्नुभयो, “सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।”

जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उहाँले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौँडाबाट राजधानी छिर्न सुझाव दिनुभएको छ । सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उहाँले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिनुभयो । भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तररूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो । काम गर्न सकेसम्म रोकिएको छैन ।

डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका छन् । केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो । तीन वर्षअघि काम सम्पन्न भएयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन । यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो । यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्