महिला एसियन कप स्थगित



क्वलालम्पुर, (एजेन्सी) ।

सन् २०२२ मा इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कप र उज्वेकिस्तानमा हुने एएफसी यू–२० महिला एसियन कप स्थगित हुने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को कार्यसमिति बैठकको निर्णयअनुसार कोरोना महामारीका कारण खेलाडीको स्वास्थ्यलाई मध्यनजर गरी दुवै प्रतियोगिता स्थगित गरिएको जनाएको हो । स्थगित दुवै प्रतियोगिता अब सन् २०२४ मा यसअघि तोकिएकै देशमा हुने एएफसीले जनाएको छ । त्यस्तै, एएफसीले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कप छनोटको मितिमा समेत केही परिवर्तन हुनसक्ने जनाएको छ ।

यसअघि, तय भएको तालिकाअनुसार छनोट खेल सेप्टेम्बर १३ देखि २५ सम्म हुने तय भएको छ । तर, धेरै जस्तो देशले कोरोनाका कारण स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाई गरेपछि छनोट प्रतियोगिताका लागि प्रशिक्षण समेत शुरू हुन नसकेकाले एएफसी महिला एसियन कप छनोटको मितिमा पनि केही परिवर्तन हुन सक्ने एएफसीले जनाएको छ । यसको निर्णय भने एएफसीले छनोट प्रतियोगिता खेल्ने राष्ट्रहरूसँगको छलफलपछि मात्र सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्