‘गोल्डेन बुट’ होडमा मेसी अगाडि



रियो दि जेनेरियो, (एजेन्सी) ।

कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सकिएर अब सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागिसकेको छ । सेमिफाइनलमा ब्राजिल र पेरू तथा अर्जेन्टिना र कोलम्बिया खेल्ने भएका छन् । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने कोपा अमेरिकामा यसपटक गोल्डेन बुट अवार्ड चाहिँ कसले जित्ला भनेर अहिले कौतुहलको विषय बनेको छ । प्रतियोगिता अन्त्यतिर पुग्दै गर्दा प्रतियोगिताभरमा सर्वाधिक गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुट प्रतिष्ठित अवार्डमा धेरैको नजर बढ्न थालेको छ ।

जारी कोपाको क्वार्टरफाइनलसम्मको अवस्थालाई नियाल्ने हो भने अर्जेन्टिनाका स्टार फरवार्ड लिओनल मेसी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् । ३४ वर्षका मेसी कुल चार गोलसहित अहिले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । उनी अहिले आफ्ना निकटम प्रतिस्पर्धीहरू भन्दा दुई गोलको अग्रतासहित गोल्डेन बुट दौडमा सबैभन्दा अगाडि रहेका छन् । मेसीले जारी कोपा अमेरिकामा पाँचवटा म्याच खेल्दै चार गोल गरेका छन् भने चार गोलमा असिस्ट पनि गरेका छन् ।

यसरी हेर्दा कोपामा गोल र असिस्ट गरेर सर्वाधिक गोलमा योगदान दिनेमा मेसीले सबैलाई उछिनेका छन् । उनले पछिल्लो पाँच खेलमा आठ गोलका लागि योगदान गरेका छन् । त्यत्ति मात्रै हैन, मेसी पछिल्ला पाँच खेलमध्ये चार खेलमा म्यान अफ् द म्याच पनि घोषित भएका छन् ।

मेसीले बोलिभियाविरुद्ध दुई, चिली तथा इक्वेडरविरुद्ध समान एक–एक गोल गरेका थिए । हालकै अवस्थामा मेसी ‘बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट’ अवार्डका लागि प्रमुख दाबेदाररूपमा प्रस्तुत भएका छन् । यदि, अर्जेन्टिनाले प्रतियोगिताको उपाधि जितेमा उक्त अवार्ड मेसीले जित्नेमा कुनै शंका नै छैन ।

जारी कोपामा मेसीलाई पछ्याउनेमा अन्य १० खेलाडी छन् । ती दश जनाको नाममा भने समान दुई गोल छन् । तर, दुई गोल गर्ने र प्रतियोगितामा कायमै रहेका टिमको खेलाडीलाई लिनुपर्दा पाँच जना मात्रै गोल्डेन बुटको होडमा बाँकी छन् । ती पाँच जनामध्ये कुन खेलाडीले मेसीलाई उछिन्न सक्लान् भन्ने जिज्ञासाको जवाफ चाहिँ फाइनलपछि नै थाहा हुनेछ । तर, मेसीले आगामी खेलमा गोल संख्या बढाएमा चाहिँ मेसी नै गोल्डेन बुट विजेता बन्ने करिब–करिब पक्का छ ।

अर्जेन्टिनाका मेसीपछि दोस्रो स्थानमा ब्राजिलका नेयमार छन् । उनले चार खेलबाट दुई गोल गर्नुका साथै दुई गोलमा असिस्ट गरेका छन् । नेयमारको टिमले अब सेमिफाइनलमा पेरूको सामना गर्नेछ । यता पेरूका जियानलुका लापाडुला दुई गोल गर्ने अर्को नाम हो । उनले पनि दुई गोल र एक असिस्ट गरेका छन् । चौथो स्थानमा पेरूकै कारिल्लो रहेका छन् । उनले पनि दुई गोल र एक असिस्ट गरेका छन् ।
त्यसैगरी, पाँचौं स्थानमा अर्जेन्टिनाका पापु गोमेज छन् । उनले हालसम्म दुई गोल गरेका छन् । त्यसपछि, छैटौं स्थानमा पनि अर्जेन्टिनाकै लौटारो मार्टिनेज उक्त दौडमा छन् । उनले हालसम्म दुई गोल गरेका छन् । दुई गोल गर्ने बाँकी अन्य खेलाडीहरूको टिम भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब सेमिफाइनलमा ब्राजिल र पेरू भिड्दा अर्को खेलमा अर्जेन्टिना र कोलम्बियाको भिडन्त हुनेछ ।
कोपा अमेरिकाका अहिलेसम्म खेलिएका २३ खेलमा कुल ५३ गोल भएका छन् । जसमा हरेक खेलमा औसतमा २.३ गोल भएका छन् । त्यस्तै, जारी कोपामा अहिलेसम्म चार खेलाडीले आत्मघाती गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्