सेनाद्वारा प्रहरीलाई हतियार हस्तान्तरण



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली सेनाले नेपाल प्रहरीलाई आफूले प्रयोग गर्दै आएका पुराना हतियार हस्तान्तरण गरेको छ । सेनाले नेपाल प्रहरीलाई विभिन्न प्रकारका राइफल तथा मेसिनगनहरू हस्तान्तरण गरेको हो ।

सेनाले विभिन्न ब्रान्डका तीन सय नाल हतियार तथा ४२ हजार तीन सय ७० वटा एम्युनिसन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेको हो । जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नेपाली सेनाले मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेसिन गन गरी जम्मा १० हजार आठ सय १८ नाल र सोको एम्युनिसन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ १७ गतेको निर्णयअनुसार पहिलो चरणमा तीन सय नाल हतियार तथा सोको एम्युनिसन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्नका लागि आधुनिक हतियारको अभाव हुँदै आएकोमा सरकारले अहिले नयाँ हतियार खरिद गर्ने अवस्था नभएपछि सेनाले प्रयोग गर्दै आएको हतियार प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको थियो ।

उक्त हतियार तथा एम्युनिसन तीन चरणमा उपलब्ध गराउने योजनाअनुसार बाँकी हतियार तथा एम्युनिसन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने प्रधानसेनापति थापाले जानकारी दिनुभयो । उपलब्ध गराइएका हतियारहरूको मर्मत सम्भार तथा अपरेसन तालिमसमेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ ।

उक्त अवसरमा नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्रमणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाबीच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिसन हस्तान्तरणसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्