साइबर आक्रमणबाट पाँच सय सुपरमार्केट बन्द



स्टकहोम, (एजेन्सी) ।

भयानक साइबर आक्रमणको कारण स्विडेनमा रहेका करिब पाँच सयवटा को–अपरेटिभ सुपरमार्केट स्टोर बन्द हुन पुगेका छन् । हाल विश्वभरिका संघ संस्थाहरू साइबर आक्रमणको शिकार हुने क्रम बढिरहेको छ । को–ओप स्विडेनले शुक्रबार आफ्ना करिब आठ सयवटा स्टोरमध्ये ५० प्रतिशतभन्दा बढी बन्द गर्नुपरेको जनाएको छ । ह्याकरहरूले सुपरमार्केटमाथि प्रत्यक्ष हमला गरेका भने हैनन् । बरु यस कम्पनीले प्रयोग गर्दै आएका ठूलो परिमाणका सफ्टवेयरमा हमला भएपछि विश्वमा व्यवसाय फैलाउँदै गरेको को–अप स्विडेन प्रभावित बन्न पुगेको हो ।

साइबर अनुसन्धानकर्ताहरूले यस र्‍यान्सोमवेयर आक्रमणबाट करिब दुई सयवटा व्यवसाय प्रभावित भएको दाबी गरेका छन् । केही समयअघि फिरौती रकम माग्दै गरिने यस्तो साइबर आक्रमणबाट अमेरिका पनि प्रभावित भएको थियो ।

अमेरिकाको मासु प्रशोधन कारखानामा भएको साइबर आक्रमण समस्या समाधानका लागि सो कारखानाले फिरौती रकमसमेत तिरेको थियो । अमेरिकाले साइबर आक्रमणका लागि रसियालाई दोष दिने गरेको छ । हालै मात्र भेटघाटको दौरानमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षीलाई उर्जा र जललगायत १६ वटा पूर्वाधार क्षेत्रमा ह्याक गर्न नहुने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्