चिडियाघरका जनावरलाई कोभिड खोप



लस एन्जेल्स, (एजेन्सी) ।

अमेरिकाको क्यालिफोर्नियास्थित ओकल्यान्ड चिडियाघरमा यसै सातादेखि भालु, सिंह र बाघजस्ता जनावरलाई कोरोना भाइरसविरुद्धको प्रयोगात्मक खोप दिन शुरू गरिएको छ । करिब एक सयवटा जनावरलाई यस्तो खोप दिने कार्यक्रम रहेको छ ।

‘जोयटिस’ नामक भेटनरी औषधि उत्पादन कम्पनीले अमेरिकाको २७ वटा राज्यस्थित ७० वटा चिडियाखाना, वन्यजन्तु आरक्षण, विश्वविद्यालय र अन्य पशु संरक्षण स्थलहरूलाई यस कार्यक्रम कार्यान्वयनका लागि सहयोगस्वरूप ११ हजार डोज खोप प्रदान गरेको छ ।
यसको पहिलो उपभोग गर्नेमा भने ओकल्यान्ड चिडियाखाना परेको छ । यो विशेष खोप केवल जनावरहरूका लागि मात्र विकास गरिएको हो । यसलाई मानवमाथि प्रयोग गर्न मिल्दैन ।

ओकल्यान्ड चिडियाघरका पशु चिकित्सा सेवाका उपाध्यक्ष डा. एलेक्स हर्मनले भनेका छन्– ‘यसले हाम्रा सुन्दर वन्यजन्तुहरूलाई धेरै सुरक्षा प्रदान गर्ने भयो । हाम्रो चिडियाघरमा सबैभन्दा पहिला सबैभन्दा पाको उमेरका दुईवटा सुन्दर बाघलाई यो खोप दिइएको छ ।’

यस चिडियाखानाका कुनै पनि जनावरमा अझैसम्म सार्स–कोभ–२ संक्रमण भएको पाइएको छैन । यसै भाइरसले मानिसमा कोभिड निम्त्याउने गरेको छ । हर्मनका अनुसार चिडियाखानामा कर्मचारीहरूले सुरक्षाका उपकरण लगाउन र जनावरहरूबाट सुरक्षित दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संयुक्त राज्य अमेरिकाका अन्य केही चिडियाखानामा बिरालो र गोरिल्लाजस्ता अन्य जनावरमा कोरोना भाइरस संक्रमणको घटना देखिसकेको छ । गत फेबु्रअरीमा अमेरिकाको सान डियागो चिडियाखानामा बाँदरहरूलाई जोयटिस खोप दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्